अवरुद्ध बनेको तमोर करिडोर सडकको धनकुटा–पाँचथर भने सञ्चालन

निरन्तर वर्षाका कारण नावा खोला र छरुवा खोलामा बाढी आएसँगै बिहीबार बिहानैदेखि अवरुद्ध बनेको तमोर करिडोर सडकको धनकुटा–पाँचथर भने सञ्चालनमा आएको छ । धनकुटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा र धनकुटाको चौविसे गाउँपालिका रहेको छरुवा खोलामा वर्षा रोकिएसँगै बाढी रोकिएपछि सडक सञ्चालनमा आएको हो । 

बाढी रोकिएपछि स्काभेटरले डाइभर्सन निर्माण गरि सडक सञ्चालनमा ल्याइएको धनकुटाका प्रहरी उपरीक्षक श्याम सिहं चौधरीले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै बिहीबार बिहानैदेखि अलपत्र परेका सवारी साधन गन्तव्यमा लागेका छन् । तमोर करिडोरमा पर्ने नावा, छरुवा र रगुवा गरी तीन वटा खोलामा पुल बनेका छैनन् । जसले गर्दा बाढी आउँदा यात्रु र सवारीलाई सास्ती हुने गरेको छ । धरान र विराटनगरबाट पाँचथर र ताप्लेजुङ आउजाउ गर्न छोटो दूरी हुने भएकाले यात्रु र सवारीले यो सडक प्रयोग गर्दै आएका छन् । 

लगातार वर्षाको कारण पहिरो जाँदा अवरुद्ध बनेको भेडेटार–रवि–राँके सडक अझै सञ्चालनमा आएको छैन । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण पहिरो खसेर सडकमा थुप्रिएपछि सडक अवरुद्ध बनेको हो । चौबिसे गाउँपालिकास्थित सौर्यमा सडकमा ठूलो ढुंगा खसेर अवरुद्ध बनेको सडक सञ्चालनको प्रयास भएपनि नसकिएको धनकुटा प्रहरी प्रमुख चौधरीले जानकारी दिनुभयो ।

यसअघि साँगुरीगढी गाउँपालिकाको डाँडाबजारमा अवरुद्ध रहेको सो सडकमा डाडाँबजारमा भने सञ्चालनमा रहेको छ । सौर्यमा सडक अबरुद्ध हुँदा गर्दा चौबिसे गाउँपालिकाका विभिन्न स्थानबाट धनकुटा र तराई क्षेत्रमा जाने सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । भेडेटारदेखि पाँचथरको रविसम्मको १०३ किमि लम्बाइको उक्त सडक भएर दैनिक दर्जनौं सवारी साधन सञ्चालन हुने गरेकोमा सडक अवरुद्ध बनेपछि स्थानीयलाई सास्ती भएको छ ।