पानी घटेपछि बाढीपीडितहरू घर फर्किए

 काठमाडौँ, १४ असोज : बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका‐५ सुस्ता गाउँमा पानी घटेपछि बाढीपीडितहरू आफ्नो घर फर्किएका छन् । अविरल वर्षाका कारण नारायणी नदीको तटबन्ध भत्केर गाउँमा बाढी पसेपछि सुस्ताका झन्डै दुई सय घर डुबानमा परेका थिए ।

 सुुस्ता बोर्डर आउटपोष्ट (विओपी) का सशस्त्र प्रहरी निरीक्षक मानबहादुर खडकाले आइतबार साझदेखि नदीमा बाढी घटेसँगै सुुस्ता डुुबान क्षेत्रमा पनि बाढी घटेकामा आज प्रभावितहरू आफ्नो घर फर्किएका हुन् । यहाँ सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुुनाथ अहिरले बाढी घटेपछि स्थानीय घर फर्किए पनि फुसको घर भत्केर बस्ने अवस्था नरहेको बताउनुुभयो । 

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले यहाँका अधिकांश स्थान डुबानमा परेपछि आश्रयका लागि अन्यत्र गएकाहरू पानी घटेसँगै आफनो घर फर्किएका जानकारी दिनुभयो । “स्थानीय बाढीपीडिहरू घर फर्किएका छन्, पक्की घर भएकालाई घरमा बस्न खासै समस्या नभए पनि फुसको घर हुनेहरूलाई भने समस्या छ । 

उहाँहरूका घर भत्किएकाले त्यहाँ बस्ने अवस्था छैन । अब सरकारले उचित बन्दोबस्त गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।