बीपी राजमार्गमा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरूलाई आजसम्म धुलिखेल ल्याइसक्ने : सरकार

सरकारले मनसुनजन्य विपद्‌मा परेका २५८ नागरिकको हवाईमार्फत उद्धार गरेको जनाएको छ। सोमबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले सो जानकारी दिए। 

केन्द्रीय सुरक्षा समितिको बैठकमा अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल भएको छ। आज (सोमबार) काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रीत रहेर हवाई उद्धार कार्य भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए।

उनका अनुसार समितिले रोशी खोलामा (बीपी राजमार्ग)मा अलपत्र परेका सबै घाइते, बिरामी यात्रुहरूलाई आजसम्म धुलिखेल ल्याइसक्ने गरी काम भएको छ। उनले अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय समितिले गरेको पनि बताए।

‘अहिलेसम्मको खोज, उद्धार, राहत र यातायात व्यवस्थापन, राजमार्गको अवस्थाको बारेमा विस्तृत रुपमा छलफल गरेर त्यसको समीक्षा गरेका छौँ। अहिलेसम्म हवाई उद्धारबाट २५८ जनाको उद्धार गरिएको छ। आज हाम्रो मुलतः काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा केन्द्रित रहेर हवाई उद्धार कार्य भइरहेको छ,’ उनले भने, ‘रोशी खोलामा (बीपी राजमार्ग)मा अलपत्र परेका यात्रुहरु घाइते, बिरामीहरू हुनुहुन्थ्यो उहाँहरूको उद्धार आजसम्म सबै घाइते, बिरामी र अशक्तहरूलाई धुलिखेल ल्याइसक्नेगरी काम भइरहेको छ।’

आवागमन सहज बनाउन आजदेखि पृथ्वी राजमार्गमा काठमाडौँतर्फबाट पनि यातायात पठाउने काम सुरु भइसकेको पनि बताए।  अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको जानकारी उनले गराए।

बीपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मको खण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आकलन गरिएको उनले बताए।

‘अन्य क्षेत्रमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने र अझै थप प्रभावकारी रुपमा अघि बढ्ने निर्णय गरेको छ। आवागमन सहज बनाउन आजैबाट पृथ्वी राजमार्गमा मुल हाम्रो काठमाडौँ उपत्यकाको मुल लाइफलाइन पृथ्वी राजमार्गमा काठमाडौँतर्फबाट पनि यातायात पठाउने काम सुरु भइसकेको छ। अन्य राजमार्गहरू पनि तत्काल सञ्चालन गर्न अधिकतम प्रयास गर्ने र तत्काल सुचारु गर्न एक भएर लाग्ने काम भइरहेको छ। बीपी राजमार्गको नेपालथोक खण्ड धेरै नै बिग्रिएकाले नेपालथोकदेखि बर्दिवाससम्मको खण्ड सुचारु अवस्थामा नै रहेको र धुलिखेलदेखि भकुण्डेसम्मकोखण्ड आजसम्म सञ्चालन हुनसक्ने सम्भावनाको पनि आकलन गरेका छौँ।’ भकुण्डेबेसीदेखि नेपालथोक खण्डलाई सकेसम्म छिटो सञ्चालन गर्नेगरी विभिन्न प्रयासहरू भइरहेको उनले बताएका छन्।