पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू छुट्न थाले

 अविरल वर्षासँगै गएको पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा चार दिनदेखि रोकिएका गाडीहरू आजदेखि छुट्न थालेका छन् ।

काठमाडौँको नयाँ (गोङ्गबु) बसपार्क लगायत विभिन्न स्थानबाट केही बेरअघिदेखि सवारी साधनहरू गन्तव्यका लागि छुट्न थालेका हुन् । चार दिनदेखि निरन्तर सडक अवरुद्ध हुँदा एक हजारभन्दा बढी सवारी साधनमा यात्रुले टिकट काटेर पनि रोकिएका थिए । उनीहरूलाई गन्तव्यमा पुर्‍याउन थालिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

सोमबार छुट्ने गाडी सहजतापूर्वक गन्तव्यमा पुग्न सके अहिले सुस्त रहँदै आएको टिकट बुकिङमा उत्साह थपिने यातायात व्यवसायीको विश्वास छ । बसपार्कबाट गाडी छुट्न थालेसँगै अहिले ट्राफिक प्रहरी प्रमुख डीआईजी भरत बोहोरा समेत पहिरोग्रस्त झ्याप्ले खोलाको निरीक्षणमा पुगेका छन् ।