अखिल क्रान्तिकारीको बन्दसत्रमा कुर्सी हानाहान

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्रमा कुर्सी हानाहान भएको छ ।

कीर्तिपुरमा जारी बन्दसत्रमा नयाँ नेतृत्व चयनमा उमेर हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा विवाद भएपछि दुई समूहबीच कुर्सी हानाहान भएको हो ।

अखिल क्रान्तिकारीमा उमेर हदबन्दी लगाउने वा नलगाउने भन्ने विषयमा विवाद छ ।यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई खुमलटार बोलाएर मतपत्रमा २८, ३० र ३२ वर्षको उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न निर्देशन दिएका थिए ।

अध्यक्ष प्रचण्डले उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेबारे मतदानमार्फत टुंगो लगाउन निर्देशन दिएपछि बन्दसत्र सुरु भएको थियो ।

बन्दसत्रमा मतदान गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेका दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा पनि प्रतिनिधिहरू एकमत छैनन् । आइतबार नै एक पक्षले उमेरहद लगाउनुपर्ने भन्दै सम्मेलन हलमा नाराबाजी गरेका थिए भने अर्को पक्षले उमेरहद लगाउन नहुने भन्दै नाराबाजी गरेका थिए ।