दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले विरोध प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ गते आइतबार पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । त्यसपछि अनुसन्धान नसकिएको भन्दै उनीमाथि थप पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।