टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने

गायक एवं सङ्गीतकार टंक बुढाथोकी आफ्नो हिट गीत ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । उनले आइतबार चलचित्र विकास बोर्डमा यो नामबाट फिल्म दर्ता गरेका हुन् ।  

टंक आफैले निर्माण निर्देशन गर्न लागेको फिल्मको लक्ष्मी गिरी कार्यकारी निर्माता र विनय अधिकारी सह–निर्मातामा छन् ।

सामाजिक कथामा बन्ने फिल्मबाट बालगायक अशोक दर्जी र  एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्ने भएका छन् ।  यसै फिल्मबाट अर्का व्यक्ति रमेश बिक नायकको रूपमा डेब्यु गर्दैछन् । फिल्मको नायिका भने छनौटको चरणमा रहेको निर्देशक बुढाथोकीले बताए ।

टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका हुन् । तिहार लगतै फिल्म छायाङ्कनमा जाने बताइएको छ ।