दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

दुईवटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो । 

समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गरिने तथा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र प्रधानन्यायाधीश र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ । 

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ । त्यस्तै, दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।