कालीमाटी बजारमा तरकारी अभाव, कुन–कुन तरकारीको आपूर्ति घट्यो ?

काठमाडौँ, १४ असोज :कालीमाटी बजारमा विशेष गरेर गोलभेंडा सानो, आलु रातो, प्याज सुकेको, बन्दा, भन्टा लाम्चो, बोडी, घिउ सिमी, तीतेकरेला, घिरौला, भिण्डी, रायो साग, च्याउ, काँक्रो, अदुवा, भेडेखुर्सानी र हरियो धनियाँ धेरै कम छन्।

अघिल्लो दिनको तुलनामा यी तरकारीहरू अधिकतम ९६.७७ प्रतिशतले कम आएका छन्। यतिबेला भेडेखुर्सानी अभाव छ। किनभने गत असोज ११ गते १ हजार ५ सय ५० किलोग्राम भेडेखुर्सानी कालीमाटीमा बिक्रीका लागि ल्याइएकोमा १२ गते भने ५० किलोमात्रै ल्याइएको छ। जसको औसत मूल्य प्रतिकिलो ग्राम १ सय २५ रुपैयाँ रहेको छ।

कालीमाटीमै तरकारी आपूर्ति कम हुँदा समग्रमा अभाव हुन थालेको हो। ताजा तरकारीबाहेकको रातो आलु र सुकेको प्याजसमेत कालीमाटीमा कम भित्रिएको छ। यी वस्तुको आगमन क्रमशः ६७.२१ र ६३.१७ प्रतिशतले घटेको छ। रातो आलुको मात्रै थोक मूल्य प्रतिकेजी औसत ७८ रुपैयाँ छ भने सुकेको प्याजको औसत १ सय १९ रुपैयाँ हाराहारीमा छ। यस्तै, गोलभेंडा सानो १५ हजार ३ सय ४० किलोग्राम भित्रिएकोमा ४.६६ प्रतिशतले घटेर १४ हजार ६ सय २५ केजीमात्रै आपूर्ति भएको छ। 

यसको मूल्य प्रतिकेजी १ सय रुपैयाँसम्म छ। यसैगरी अन्य ताजा तरकारीमा बन्दाको आपूर्ति ९३ प्रतिशतले घटेको छ। यसैगरी क्रमशः लाम्चो भन्टा ८६.४० प्रतिशत, बोडी ७५.२२ प्रतिशत, घिउ सिमी ९५.३५ प्रतिशत, तीतेकरेला ५४.३३ प्रतिशत, घिरौला ९५.१४ प्रतिशत, भिण्डी ९१.१६ प्रतिशत, रायो साग ३५.६६ प्रतिशत, च्याउ ८७.८६ प्रतिशत, काँक्रो ९०.१७ प्रतिशत, अदुवा ४० प्रतिशत र हरियो धनियाँ ९४.३३ प्रतिशतले आपूर्र्ति घटेको छ। 

यसका बाबजुद पनि चिचिण्डो, फर्सी हरियो, स्कुस, तोफु र खुर्सानी हरियोको आगमन भने राम्रो गतिमा बढिरहेको छ। यतिबेला बढी सिजनमा रहेको यी तरकारीको आपूर्ति बढेसँगै मूल्य पनि तुलनात्मक रूपमा कम देखिन्छ। स्कुस, हरियो फर्सीको प्रतिकेजी ५० रुपैयाँदेखि ६० रुपैयाँसम्मको थोक मूल्यमा बिक्री भइरहेको छ। 

कृषि क्षेत्रको क्षतिको तथ्यांक संकलन गर्न मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के, कति क्षति पुर्‍याएको छ यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन्। 

यसैक्रममा मन्त्री अधिकारीले भने, ‘बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्‍याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ।’ बैठकमा क्षतिको यकिन तथ्यांक छिटो संकलन गरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।