स्वास्थ्यमन्त्री पौडेलसँग स्वास्थ्य उपकरण माग

काठमाडौँ, १४ असोज  : यहाँस्थित पृथ्वीचन्द्र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट (मेसु) डा मोहम्मद नुरुल होदाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँग स्वास्थ्य उपकरणको माग गर्नुभएको छ ।

बर्दघाटस्थित ट्रमा सेन्टरको शिलान्यास कार्यक्रममा आउनुभएका स्वास्थ्यमन्त्री पौडेलले जिल्ला अस्पतालको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो । निरीक्षणको क्रममा अस्पतालका मेसु डा होदाले चार स्वास्थ्य उपकरणको माग गर्नुभएको हो । अस्पतालमा स्वास्थ्यसम्बन्धी उपकरणको अभाव छ । अस्पतालमा आवश्यक चिकित्सक जनशक्ति उपलब्ध भए पनि उपकरणको अभावमा सेवा दिन नसकिएको डा होदाको गुनासो छ । 

उहाँले भन्नुभयो, “अस्पतालका लागि चार उपकरण माग गरिएको छ । अर्थोपेडिक (हाडजोर्नी शल्यक्रिया) का लागि सि–आमन, जेनरल एनेस्थेसिया, लेप्रोस्कोपी शल्यक्रिया र कान शल्यक्रिया उपकरण गरि चार उपकरण माग गरिएको छ ।” अस्पतालमा अर्थोपेडिकको उपकरण भए पनि पुरानो भएकाले अर्को माग गरिएको, उहाँले बताउनुभयो । 

अस्पतालको नयाँ भवनबाट सेवा प्रभावकारी बनाउन उपकरण आवश्यक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार आकस्मिक शल्यक्रिया (ईमर्जेन्सी ओ.टी.) र अतिरिक्त शल्यक्रिया (सिडियोल ओ.टी.) को सेवा सञ्चालनको तयारी भइरहेको छ । 

अस्पतालको २४घण्टा सेवा थप प्रभावकारी बनाउन आवश्यक तयारीमा जुटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताउनुभयो । अस्पतालमा अहिले अर्थोपेडिक सर्जन, जनरल सर्जन र इएनटी सर्जनलगायत चिकित्सक रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय थप सेवासहित व्यवस्थापन पक्ष सुधार भएकाले अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।