मन्त्री सुडीद्वारा उद्धार, राहत र पुनःस्थापनका लागि आग्रह

काठमाडौँ, १४ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पु¥याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गर्नुभएको छ । 

समाज कल्याण परिषद्का अध्यक्षसमेत् रहनुभएका सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहतमा जुट्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको हो । 

मन्त्री सुडीले आइतबार आकस्मिक बैठक आयोजना गरी मुलुकमा पछिल्लो केही दिनयता अकल्पनीय विपद्को सामना गर्नुपरेको बताउनुभयो । विगतमा बाढी नआउने क्षेत्रमासमेत बाढीपहिरोको समस्या देखिएकाले उहाँले यसपटक काठमाडौँले ठूलो बाढीको सामना गर्नुपरेको बताउनुभयो । “यसपटक निकै विकराल अवस्था देखिएको छ, धनजनको क्षति ठूलो मात्रामा भएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ”, मन्त्री सुडीले भन्नुभयो । 

जिल्लामा विपद् व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकाले उनीहरूमार्फत दोहारो नपर्ने गरी योगदान गर्न उहाँले निर्देशन दिनुभयो ।