बेरुतमा गार्ड्सका जनरलको हत्या गरेकामा इजरायललाई जवाफ दिने इरानको प्रतिज्ञा

इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहसँगै मारिएका एक वरिष्ठ इरानी जनरलको मृत्यु ‘अनुत्तरित नरहने’ बताउनुभएको छ । 

अराघचीको उक्त टिप्पणी लेबनानको राजधानी बेरुतमा इरान समर्थित हिजबुल्लाहको गढमा शुक्रबार भएको आक्रमणको दुई दिनपछि आएको हो । आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड्सका विदेशी अपरेसन शाखा कुद्स फोर्सका शीर्ष कमान्डर जनरल अब्बास निलफोरौशान मारिएका थिए ।

“आक्रमणकारी यहुदीवादी शासनको यो भयानक अपराध अनुत्तरित रहनेछैन”, विदेश मन्त्रालयको वक्तव्यअनुसार अराघचीले भन्नुभयो, “कूटनीतिक संयन्त्रले अपराधीहरू र उनीहरूका समर्थकहरूलाई खोज्न आफ्ना सबै राजनीतिक, कूटनीति, कानूनी र अन्तर्राष्ट्रिय क्षमताहरू प्रयोग गर्नेछ ।”

इरानी अधिकारीहरूले हिजबुल्लाह प्रमुख नसरल्लाहको हत्याको कडा निन्दा गरेका छन् । नसरल्लाहको शक्तिशाली लेबनानी आन्दोलनलाई वर्षौँदेखि इरानले हतियार र आर्थिक सहयोग प्रदान गर्दै आएको छ । 

मुलुकको आधिकारिक समाचार एजेन्सी आइआरएनएका अनुसार इरानका रणनीतिक मामिलाका उपाध्यक्ष जवाद जरिफले भन्नुभयो, “उपयुक्त समयमा र इरानको रोजाइमा प्रतिक्रिया दिइनेछ र निर्णय निश्चित रूपमा नेतृत्वस्तरमा र राज्यको उच्चतम तहमा लिइनेछ ।” 

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नसरल्लाहको ‘सहादत’ का लागि समवेदना व्यक्त गर्नुभएको छ र पाँच दिनको सार्वजनिक शोक घोषणा गर्नुभएको छ । राज्यका सबै मामिलामा खामेनीको अन्तिम अधिकार हुन्छ ।

इरानीहरू आइतबार मुलुकभरका धेरै सहरमा गार्ड्सका निलफोरौशान र हिजबुल्लाहका नसरल्लाहको हत्याप्रति रोष प्रकट गर्न सडका उत्रिएका थिए ।