झ्याप्ले खोलामा पहिरो हटाइएकाे ४८ घण्टापछि सडक दुईतर्फी खुल्याे, अन्य राजमार्ग कहिले मर्मत हुन्छन् ?

राजधानी काठमाडौंसँग जोडिएका नाका ४८ घन्टासम्म अवरुद्ध रहे। भीषण वर्षासँगै पहिरो खस्दा शुक्रबार र शनिबारबाट राजधानीसँगका सबै राजमार्ग अवरुद्ध बनेका थिए।

४८ घन्टापछि राजधानीसँगको मुख्य नाका नागढुंगा–मुग्लिन  र त्रिभुवन राजपथ–चित्लाङ–चन्द्रागिरी हुँदै काठमाडौं जाने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।  आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाले बताए।  राजमार्ग एकतर्फी सञ्चालनमा आए पनि सडकमा रोकिएकाबाहेक अन्य सवारीसाधन राति सञ्चालनमा रोक लगाएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित झ्याप्लेखोलामा शनिबार बिहान पहिरो खस्दा सवारी आवागमन ठप्प बनेको थियो। पहिरोमा माइक्रो र बस पुरिँदा ३५ जना यात्रुको मृत्यु भएको छ।
त्यस्तै, काठमाडौं जोड्ने कान्तिलोकपथ, त्रिभुवनराजपथ, भीमफेदी–कुलेखानी–पाखेल, फाखेल–हुमाने, चखेल–मातातीर्थ–सतुंगल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड अझै पनि अवरुद्ध छन्। 
कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा अवरुद्ध छ भने कान्तिलोकपथ बकैया गाउँपालिकाको वडा नम्बर ११ लाम्राङ, आँपचौर र वडा नम्बर १२ को घट्टेपाखामा अवरुद्ध छ। 
त्रिभुवन लोकपथअन्तर्गत थाहानगरपालिका वडा नम्बर ५ दामनमा र दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका– ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको छ।  
विपि राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।तर, रोशी र सनुकोशी नदीमा आएको बाढीका कारण भत्किएको विपि राजमार्ग र मध्यपहाडी राजमार्ग संचालनमा आउन सकेको छैन। राजमार्गको सिन्धुली खण्डमा आशिंक रुपमा सवारी साधन संचालनमा ल्याइएको हो। काभ्रेमा पर्ने विपि राजमार्गको धेरै स्थानमा अवरुद्ध छ।

मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि खण्डमा धेरै स्थानमा पहिरो खसेको छ। सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द छ।  आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ। सडक मर्मतको काम भइरहेको र सञ्चालनमा आउन केही दिन लाग्ने उनले बताए। 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकले वर्षा र बाढीपहिरोबाट प्रभावित भएका र घाइतेहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने लगायतका निर्णय गरेको छ। 

वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन अवरुद्ध भई गन्तब्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरुलाई सम्बन्धित जिल्ला विपद  व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने भनिएको छ भने  देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्मा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सूचारु गर्ने निर्णय भएको छ। यसैगरी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहको मर्मत संभार गरी विद्युत आपूर्ती र सूचना तथा संचार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथासक्य छिटो सूचारु गर्ने निर्णय भएको छ ।