सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै

 सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दै गएको छ । निरन्तर पानीको बहाव बढ्दा सप्तकोशी नदीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिले ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ ।

हिजो साँझबाट कोशी प्रदेशका अधिकांश स्थानमा पानी पर्न रोकिए पनि सप्तकोशीमा भने पानीको बहाव निरन्तर बढ्दो नै छ । कोशी नदीमा लेदोयुक्त बाढी अत्यधिक रहेको जनाइएको छ ।

पानीको बहाव बढेका कारण आइतबार बिहानसम्मै कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ । ब्यारेज माथिबाट पानी बगेका कारण आवतजावत बन्द गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

सप्तकोशी नदीमा जल सतहले सतर्कता तह नाघेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुला छन् । शनिवार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने घटेको छैन ।

कोशी ब्यारेजमा अति उच्च बहावका कारण अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासनले आग्रह गरिसकेको छ ।

एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनबाहेक कोशी ब्यारेजमा चल्न अनुमति छैन ।