गोरखाबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन

काठमाडौँ, १३ असोजः गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख २२७० नम्बरको बस हराएको हो । 

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । `बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,´ गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने, `हामी पनि खोजी रहेका छौँ ।´

बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।`बसमा धेरै यात्रु थिएनन् भन्ने छ । कति हुन् भन्ने विवरण छैन,´ उनले भने । 

उनका अनुसार ३ जना गाडीका स्टाफ र एकजना मात्र यात्रु गाडीमा थिए । `धेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भन्नुभएको छ । तर बीचबाटोमा चढेको हुन सक्छ,´ उनले अघि थपे, `केही विवरण आयो भने सार्वजनिक होला ।´ बसमा सवार केही यात्रु मुस्लिनमा झरेका थिए । 

बसका एक यात्रु सूर्य गुरुङले पनि धेरै यात्रु नभएको बताएका छन् । उनको भनाई जस्ताको त्यस्तै:

लापुबेँसीबाट २ जना आएको हो । अलि वर आएपछि एकजना चढ्नुभयो । त्यसपछि विभिन्न ठाउँमा यात्रु चढेका थिए । आरूघाटमा धेरै नै चढेका थिए । कतैकतै म निदाएको हुँदा अरुतिर कति चढे भन्ने थाहा भएन । गोरखा बजार आएको त मलाई थाहा पनि भएन । मुग्लिङ पुगे। म सहित धेरै नै झरेका थियौँ । गाडीमा ५-७ जना जति हुनुहुन्थ्यो होला । मसँग आउनुभएको सुके गुरुङ भन्ने दाइ पनि त्यसमै हुनुहुन्थ्यो । उहाँ काठमाडौँका लागि जानुभएको हो । 

म मुस्लिनमा झरेपछि छिटोछिटो नारायणगढको गाडीमा चढेँ । पछि ७ बजेतिर सुके दाइको फोन आएको थियो । म जाममा फसें भाइ भन्नुभएको थियो । अनि हाम्रो कुरा भएन । राती मैले दाइलाई फेरि फोन गरेँ, खबर सोध्नलाई । उहाँको फोन लागेन, स्विच अफ भन्यो । 

चार्ज नभएर होला भनेर मैले खासै वास्ता गरिनँ । भोलिपल्ट नि फोन लागेन । अहिले पो थाहा भयो गाडी नै सम्पर्क विहीन भएछ । दाइ पनि त्यही दिनदेखि सम्पर्कमा हुनुहुन्न ।