सुकिला नोटको वितरण आजदेखि

काठमाडौँ, १३ असोजः दसैँका लागि 'सुकिला नोट'को वितरण आजदेखि सुरु हुँदै छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्रहरू तथा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखाहरूबाट नोट सटहीको गरिनेछ । 

बैंकका प्रवक्ता रामु पौडेलले यसका लागि सम्बन्धित संस्था तथा शाखा कार्यालयलाई निर्देशन दिइसकेको र आवश्यक नोट उपलब्ध समेत गराएको बताए । 'सर्वसाधारणलाई चाहिनेजति नोट सटही गर्न सक्ने व्यवस्था गरेका छौँ,' प्रवक्ता पौडेलले भने, 'बैंकहरु आफैँसँग पनि त्यस्तो नोट छ, नपुगेको नोट राष्ट्र बैंकले उपलब्ध गराउँछ ।' 

कस्तो हुन्छ सुकिलो नोट?
सरकारले यसअघि नयाँ नोट वितरण गर्दै आएको थियो । यस्तो नोट छपाइ गरेर ल्याएपछि पहिलोपल्ट ढुकुटीबाट निकालिन्थ्यो र सटही गरिन्थ्यो । नयाँ नोट पाएकाहरू सम्बन्धित नोटको पहिलो प्रयोगकर्ता हुन्थे । त्यसरी प्राप्त गर्ने नोटको नम्बर समेत क्रमवद्ध हुन्थ्यो । 

आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ । प्रवक्ता पौडेल अनुसार देख्दा यी नोटहरू पनि नयाँ हुने बताउँछन् । सामान्यतया एकपटक प्रयोग भएर आएको पैसालाई सटही गर्ने उनको भनाइ छ । प्रयोग भइसकेकोले सामान्यतया नोटको नम्बरमा क्रम पनि मिल्दैनन् ।