काभ्रेमा एकै परिवारका ८ जना पहिरोामा बगे

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका २ मा एकै परिवारका ८ जनालाई पहिरोले बगाएको छ। शनिबार दिउँसो आएको पहिरोले माइला तामाङका ८ जना परिवारलाई बगाएको तेमाल गाउँपालिका–२ का वडाध्यक्ष देवराज तामाङले  जानकारी दिए। 

माइला तामाङकी श्रीमती, बुबा ७५ वर्षीय सानुमान तामाङ र ७२ वर्षकी आमा, भाइ ३२ वर्षका मानजित लामा, बुहारी, भाइका छोरी छोरी ३ जनालाई पहिरोले बगाएको वडाध्यक्ष तामाङले जानकारी दिए। 

वडाध्यक्ष तामाङका अनुसार माइला तामाङ पनि घाइते छन्। उनको अवस्था गम्भीर भएपनि अस्पताल पुर्‍याउन सकिएको छैन। अहिले उनलाई छिमेकीको घरमा लगेर राखिएको छ।माइलाको उद्धारका लागि पुगेका गाउँलेहरूले ५ सयमिटर जति माथि रहेको हिरालाल तामाङको घरमा लगेर छाडेका छन्। हिरालालको घरमा पनि अहिले पहिरोको उच्च जोखिम छ। 

वडाध्यक्ष तामाङले भने, ‘माइलालाई उद्धार गर्न भनेर ४/५ जना गाउँका केटाहरू पठाएको थिएँ। तर जताततैबाट पहिरोले घेरेपछि माइलालाई बीचमै छाडेर उनीहरू फर्किनुपर्‍यो। सुरक्षा निकायलाई खबर गरेँ। तर उनीहरू पनि जानै सकेनन्। थप क्षति हुन नदिनको लागि उद्धारको लागि पुगेका भन्जाहरुलाई फर्काउन परेको हो। आज रातभरीमा केही भएन भने भोलि बिहानै गएर माइलाको उद्धार गर्छौँ। तर अवस्था जटिल छ।’

घरसहित परिवारका ८ जनालाई नै पहिरोले बगाउँदा माइलालाई भने जस्ताले थिचेको अवस्थामा गाउँलेले निकालेका हुन्। तर अस्पतालतर्फ लैजाँदै गर्दा वर्षा र जताततैबाट पहिरो जान थालेपछि उनीहरू पनि छाडेर फर्किएका छन्। ४५ वर्षीय माइलाको ठूलो ज्यान भएकाले बोकेर ल्याउन गाह्रो भएको उनीहरूको भनाइ छ। उनको टाउको र खुट्टामा चोट छ। केही बोल्न सक्ने भएपनि समयमै उपचार नपाउँदा अवस्था जटिल बन्दै गएको छ।  

सोही ठाउँका पहिरोको जोखिममा परेकाहरूलाई भने अन्यत्र सारिएको छ।माइला तामाङलाई राखिएको घरका परिवारलाई पनि अन्यत्र सार्न खोजिएको थियो। तर उनीहरू सर्न मानेका छैनन्।

तेमालकै वडा नं ४ मा दुईजना र वडा नं ७ मा २ जनागरी ४ जनाको मृत्यु भइसकेको छ।