बाढीपहिरोले ब्यापक क्षतिः राज्य मूकदर्शक, उद्धारसमेत गर्न सकेन

बाढीपहिरोले देशभर व्यापक क्षति गरेको छ।

राजधानी काठमाडौंसहित बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति भएको छ। प्रहरीका अनुसार २४ घन्टामै एक सय  जनाको ज्यान गएको छ। ७२ बेपत्ता भएका छन्। राजधानी उपत्यकासँग जोडिएका सबै राजमार्ग बन्द भएका छन्। सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार २३ राजमार्गका ६६ भन्दा धेरै स्थानमा बाढी र पहिरोले क्षति पुगेकाले यातायात बन्द गर्नु परेको छ।  आधा दर्जन पुल बाढी र पहिरोले बगेको छ । नेपाल–चीन जोड्ने अरनिको राजमार्गबाट दुई मुलुकबीचको सडक सम्पर्क समेत विच्छेद हुन पुगेको छ। 

तर, राज्य भने शव गन्नुबाहेक मूकदर्शक बनेर बसेको छ। प्रहरी र सेनाले रातिदिन उद्धारका काम गरेपनि प्रशासकीय र राजनीतिक नेतृत्व भने निस्क्रिय बनेको हो।कतिसम्म भने राज्य संयन्त्रले समयमै निर्णय लिन नसक्दा सेनाले ढिलोगरी मात्र उद्धारमा हेलिकोप्टर परिचालन गर्यो। राजधानी काठमाडौंमै तीन दर्जनको ज्यान गएको छ। 

नक्खुखोलामा फसेकालाई स्थानीय चणिकलाल तामाङले उद्धार गरे। तर, प्रहरी प्रशासन पुग्न सकेन। गृहमन्त्री रमेश लेखक भने मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकमा मन्त्री लेखले नख्खु नदि छेउमा रहेकाहरुलाई बचान नसकिएको बताइरहेका थिए।

भिजिबिलिटीका कारण हेलिकप्टरमार्फत उनीहरुलाई उद्दार गर्न नसकिएको उनले बताएका थिए। वर्षा एकाएक भएको होइन्। जल तथा मौसम विज्ञान विभागले गत सोमबार नै विशेष बुलेटिन जारी गरेर भीषण वर्षाको चेतावनी दिएको थियो। तर, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले गम्भीरतापूर्वक लिएनन्।

स्थानीय प्रशासनले प्रहरी परिचालन गर्नुबाहेक नीतिगत निर्णय हुन सकेनन्। ठूलो पानी परेका र बाढीको जोखिममा रहेका वस्तीका वासिन्दालाई सार्न सकेको भए मानवीय क्षति घट्थ्यो। तर, सरकारले भने बाढीपछि पनि उद्धार गर्न सकेन। हरेक दिन पहिरो खसिरहेको नारायणगढदेखि थानकोट सडकमा यो भीषण वर्षामा पनि गाडी चलाउन दिएर ठूलो मानवीय क्षति भएको छ। बुटवलबाट छुटेको बस धादिङमा पहिरोमा पुरिदा १४ जनाले ज्यान गएका छन्। शनिबार बिहान पहिरोमा पुरिँदा पनि राति मात्र प्रहरी पुगेको थियो। काठमाडौंपछि सबैभन्दा धेरै क्षति भएको जिल्ला काभ्रे हो, काभ्रेका हरेक गाउँमा पहिरो गएको छ। १६ जनाको ज्यान गएको छ।