वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

विश्वम्भरले रोपे द्वन्द्वको बिउ, अब सपनाको पालामा मात्र नियुक्ति

 हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनको टिमको चालबाजी बुझ्न नसक्दा आगामी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल सकसपूर्ण बन्ने निश्चित भएको छ । उस्तै परे अब उनले उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसमेत गर्न सक्ने छैनन् ।  प्रधानन्यायाधीश श्रेष्ठको जोडबलमा शुक्रबार सर्वोच्च अदालतमा दुइ न्यायाधीश नियुक्तिको सिफारिस न्याय परिषदबाट भएको छ । यो सिफारिस एक त श्रेष्ठ घर जाने बेलामा उनकै जिद्दीमा गरिएको छ । अर्कोतिर यसले मात्र सर्वोच्च अदालतको खाँचो पूर्ति गर्दैन । किनभने ६ जना न्यायाधीश सिफारिस गर्नुपर्नेमा २ जना मात्र पठाउनु युक्तिसंगत छैन ।

https://barnanmedia.com/news/detail/196235/ 

बाढी पहिरोकाे प्रभाव : आइतबारदेखि ३ दिनसम्म विद्यालय बन्द

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।

वतरण गर्न नसकेपछि रोशी पठाइएको हेलिकप्टर फिर्ता
 

 काभ्रेको रोशी गाउँपालिकामा पठाइएको हेलिकप्टर फिर्ता भएको छ । अवतरण गर्न नसकेपछि हेलिकप्टर फर्किएको हो । रोशीमा गाउँ नै बाढी पहिरोमा परेकाले ठूलो जनधनको क्षति भएको हुन सक्ने आशंका गरिएको छ । अहिले रोशीमा विद्युत् र सञ्चार अवरुद्ध भएको छ । जसले गर्दा यकिन विवरण प्राप्त हुन सकेको छैन । खोलमा बाढी आउँदा घरहरूनै बगाएको हो ।

सुनसरीको श्रीलङ्का टापुमा ३४ जना थुनिए

 बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोशीको बाढीका कारण अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार बाढीका कारण बराहक्षेत्र–६ मा २२ जना तथा बराहक्षेत्र–९ मा १२ जना अलपत्र परेका छन् । आज बिहानैदेखि उनीहरुको उद्धारका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिए पनि उद्धार सम्भव नभएको उनले बताए ।

विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अविरल वर्षापछि आएको बाढीपहिराका घटनामा परेका नागरिकको खोजी, उद्धार र राहतलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभएको छ ।  देशका विभिन्न भागमा भएका विपद्का घटनालगत्तै सरकारले विपद् प्रतिकार्यलाई तदारुकताका साथ अघि बढाएको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले राससलाई जानकारी दिनुभयो । “विपद्का बेलामा जनताले सरकार सम्झनु स्वाभाविक हो, हामीले हिजोदेखि नै तदारूकताका साथ प्रतिकार्यका काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । 

लामो यात्रामा निस्कनुअघि यी यी नम्बरमा कल गर्नुहोस् ।

 नेपाल प्रहरीले लामो यात्रामा निस्कनुअघि सडकको अवस्था सुनिश्चित गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध भएकाले प्रहरीले यस्तो आग्रह गरेको हो ।  प्रहरीका अनुसार अहिले अवरुद्ध बाटो बाटो खुलाउने प्रयास भइरहेको छ । यदि यात्रामा निस्कने सोच्दै हुनुहुन्छ भने नजिकैको वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । अथवा तपाईंले निम्न नम्बरमा कल गरेर बाटोको अवस्थाबारे जानकारी लिन सक्नुहुन्छ

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा प्रदायकलाई आफ्नो सेवालाई प्रभावकारीका साथ निरन्तरता दिन निर्देशन दिएको छ ।  केही दिनदेखि देशभर भइरहेको अविरल रुपमा भएको वर्षा र सोका कारण सञ्चार पूर्वाधार क्षेत्रमा भएको क्षति विवरण र पूर्वाधारको पुनःसञ्चालन सम्बन्धमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

त्रिविकाे परीक्षा असोज २१ गते हुने 

 त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।  अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि तय BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । 

घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

मन्त्लयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विज्ञप्ति जारी गर्दै सबै स्वास्थ्य संस्थाहरूले विपद्बाट उद्धार गरिएका घाइते र बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी गराउनुभयो । प्रदेश, जिल्ला र स्थानीय तहका दु्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ । 

काठमाडौँसहित १२ स्थानका नदीमा ‘रेड अलर्ट’

 वर्षा कम भएपनि काठमाडौँमा बागमती नदीसहित विभिन्न १२ स्थानका नदीहरुमा बाढीको सतह सतर्कता तहभन्दा माथि नै रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूवानुमान महाशाखाका अनुसार शनिबार साँझ साढे ६ बजेसम्म विभिन्न केन्द्रमा भएको मापनमा जल सतह सतर्कता तहभन्दा माथि (खतरनाक) रहेका हुन् ।  महाशाखाका अनुसार १२ मध्ये अधिकांशको बाढी घट्ने क्रममा रहेपनि केही स्थानमा भने अझै जल सतह बढ्ने क्रममै रहेका छन् । यस्तै थप ११ स्थानमा चेतावनी जारी गरिएको छ । 

काम आयो नागढुंगा सुरुङमार्ग

शनिबार विपद, बाढी र पहिरोका कारण राजमार्गमा अलपत्र परेका यात्रुको उद्धारका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग प्रयोगमा ल्याइएको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार शनिबार सुरुङमार्गमा साना सवारी साधनलाई प्रवेशको अनुमति दिइएको थियो । जुन गाडी मुग्लिनबाट पास भएर काठमाडौंतर्फ आएर रोकिएका थिए, ती गाडी र यात्रुलाई मात्र काठमाडौं भित्र छिर्न दिइएको छ ।’

अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)
 

 बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ उपत्यकमा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्युभएको पुष्टि गरेको छ ।  मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी छ । बाढी पहिरोमा परी काठमाडौँको दक्षिणकाली नगरपालिका–८ का ४३ वर्षीय भविन्द्र लिम्बू, सोही ठाउँका ४० वर्षीय कुमार तामाङ र २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ का ३७ वर्षीय प्रेम बलामी र सोही ठाउँका ३४ वर्षीय कान्छा बलामी, दक्षिणकाली–७ का ५० वर्षीया देवी लिम्बुको मृत्यु भएको छ । 

पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित

 पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीवार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ । पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा आज बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । “पानी निरन्तर परिरहेको छ, पहिरो खस्नेक्रम पनि रोकिएको छैन । 

मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउने

मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ सँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको छ। राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए । 

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खोलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ। आज बिहान बुटवलबाट काठमार्डाँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए। ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए।बसमा चालकसहित १२ जना रहेको बताइएको छ।

बाढी हेर्न गएका किशोर बगे

 महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको छ । आज दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको बाढी हेर्न गएको बेला उनीहरूलाई खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।

तामाकोशी जलविद्युत आयोजनास्थलमा खटिएका पाँच सैनिक र कर्मचारी बेपत्ता 

पहिरो खसेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलमा खटिएका पाँच जना बेपत्ता भएका छन् । हेडवर्क्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनाका दुई जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गार्ड बेपत्ता भएको बताइएको छ ।उनीहरू नियन्त्रण कक्षमा रहँदा आज दिउँसो खसेको पहिरोले भवन पुरेको थियो । बाँधस्थलनजिकैको नियन्त्रण कक्ष रहेको दुईतले घर पुरिएको छ । पहिरोले जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुपारेको छ ।