उपत्यकामा ५४ वर्षयताकै अत्याधिक वर्षा, ९ स्थानमा रेकर्ड ब्रेक

 काठमाडौं उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।

सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो । विभागको अभिलेखमा शनिबार काठमाडौंमा ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

काठमाडौंमा सन् २००२ मा सबैभन्दा ठूलो धेरै वर्षा भएको थियो । तर त्यसको २२ वर्षपछि शुक्रबार र शनिबार झन् ठूलो वर्षा भएर नयाँ रेकर्ड बनेको हो ।शनिबार बिहान ८ः४५ बजेको रेकर्डअनुसार काठमाडौंको त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ । जबकी सन् २००२ मा १७७ मिलिमिटर मात्रै वर्षा भएको थियो । विमानस्थल वर्षा मापन केन्द्रको यो तथ्यांकले अहिलेसम्मकै सर्वाधिक वर्षा भएको देखिएको मौसमविद् झाले बताए ।

‘काठमाडौं उपत्यकामा यति ठूलो वर्षा योभन्दा पहिले कहिल्यै रेकर्ड भएको थिएन,' मौसमविद् झा भन्छन्, 'यो मौसमको अभिलेख राख्न थालिएयताकै सर्वाधिक वर्षा हो । यसको सूक्ष्म अध्ययन गर्न त बाँकी छ । तर मलाई लाग्छ, यहाँ २४ घण्टासम्म नियमित र यति धेरै वर्षा भएको यो नै पहिलोपटक हो ।’ 

उनका अनुसार बुढानीलकण्ठ वर्षा मापन केन्द्रमा सन् २००७ मा १५९ मिलिमिटर वर्षा भएको रेकर्ड थियो । शनिबार १८७.३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकोमा शनिबार ३२३ मिलिमिटर वर्षा भएको छ ।

मौषसविद् झाले उपत्यकामा ९ वटा वर्षा मापन केन्द्रहरूमा रेकर्ड ब्रेक भएको र उपत्यकाबाहिर पनि धेरै ठाउँहरूमा अत्यधिक वर्षा भएको बताए । ‘तथ्यांक संकलन हुँदैछ । विश्लेषण पनि हुँदैछ । अन्यत्र ठाउँहरूमा पनि अत्यधिक वर्षा भएको छ,’ उनले भने, ‘यसको विस्तृत रिपोर्टमा थप खुलासाहरू हुन सक्छन् ।’ 

काठमाडौंमा शुक्रबार बिहानदेखि सुरु भएको भारी वर्षा शनिबार अपरान्हपछि मात्रै रोकिएको छ । भारी वर्षाका कारण उपत्यकाका नदीहरूले बाढीको रुप लिएका छन् भने नदी आसपासका सहर र सडक जलमग्न बनेका छन् ।शुक्रबार एकसाथ देशका २२२ वटा वर्षा मापन केन्द्रहरूमा वर्षा रेकर्ड भएको थियो । तीमध्ये शनिबार ७७ स्थानमा अत्यधिक वर्षा मापन भएको छ । ती स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । विभागकाअनुसार अत्यधिक वर्षा भएका ठाउँहरूमा बाढी, पहिरो र सडक भासिनेजस्ता घटना भएका छन् ।

‘काठमाडौं उपत्यकामा अहिले वर्षा रोकिएको छ। तर अब पर्दै नपर्ने भन्ने होइन,’ मौसमविद् झाले भने, ‘अब क्रमशः सुधार हुँदै जान्छ । र आइतबारबाट मुख्यरुपमा मौसममा सुधार हुँदै जान्छ । अहिले पनि कोसी र मधेसका कतिपय ठाउँहरूमा भारी वर्षा भइरहेको छ ।’ 

अत्यधिक वर्षाका कारण हालसम्म उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ भने देशभर शनिबार साँझसम्म ६६ जनाले बाढी, पहिरोबाट ज्यान गुमाएका छन् । अझै ७९ जना बेपत्ता रहेका छन् ।नेपाल प्रहरीका अनुसार काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो भने पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै, ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका छन् ।