मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउने

मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकाका बाढी प्रभावितलाई खाना खुवाउन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ सँगको सहकार्यमा मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला, मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चले संयुक्त रूपमा खाना खुवाउन थालेको छ। राहत स्वरूप पहिलो चरणमा गौशाला धर्मशालामा खाना बनाएर प्रभावित क्षेत्रमा वितरण गरिएको मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए । 

 उनका अनुसार कालीमाटी, बल्खु, कोटेश्वर, थापाथली, पशुपति लगायत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खाना खुवाइएको हो । आवश्यकता अनुसार यो क्रम केही दिन जारी रहने मञ्चले जनाएको छ । गत शुक्रवारदेखिको अविरल वर्षाका कारण उपत्यका लगायत देशभरका विभिन्न खोला, नदी किनारका बस्तीहरूमा बाढी पसेको छ भने पहिरोले क्षति गरेको छ ।