स्वदेश फर्किने तयारीमा छु, विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्‍याउन मद्दत गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीले सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको समेत बताएका छन् ।

ओली लेख्छन्-

बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरु कार्य क्षेत्रमा खटिरहनु भएको छ। विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ। तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौं र उहाँहरुलाई सबैले सहयोग गरौं। बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्याउन मद्दत गरौं। वर्षाले क्षति पुर्याउन सुरु गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको थियो। सोही योजना अनुसार सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको छ। मौसमविद्सँग केहीबेर अघि बुझे अनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने छ। संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु। विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गरौं।