सप्तकाेशी नदीमा पानीको बहाव बढ्दै, सन् १९६८ यताकै धेरै

सप्तकाेशी नदीमा पानीको बहाव बढ्दै जाँदा पुल माथिबाटै पानी बग्न थालेको छ । १८ नम्बर ढाेका माथिको पुलबाटै केही बेर अगाडि पानी बग्न थालेको भए पनि अहिले कम हुँदै गएको सुनसरी प्रहरीले जनाएको छ । 

पानीको बहाव उच्च भएर पुलबाटै पानी बग्न थालेको हो । ब्यारेजका ५६ वटै ढोका खुला गरिएको उनले बताए । ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । अहिले कोशीको पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको छ ।

 सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ ।