आश्विन कृष्ण द्वादशी : फर्पिङको हरिशङ्कर जात्राको मुख्य दिन

काठमाडौँ, १२ असोज :  ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको छ । खट घुमाउने यात्राका रुपमा परिचित यो जात्राको मुख्य कार्यक्रम आजदेखि सुरु भएको हो । भाद्र शुक्ल पूर्णिमादेखि फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्राको खट घुमाउने परम्पराको आज मुख्य दिन हो । 

यात्राको समाप्ति आश्विन शुक्ल प्रतिपदाका दिन अर्थात् घटस्थापनाका दिन गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हुने दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले राससलाई जानकारी दिनुभयो ।

यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको विस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ । भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि सुरु हुने गरेको छ ।

यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्तिहरु स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूलो हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ । 

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटै स्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्धहरु बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि सुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वय समेत रहेको स्थानीयवासीको भनाइ छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाले जनाएको छ ।