किन हुन सकेन समयमा उद्धार ? २३ जनाले गुमाए ज्यान

" मृतकको संख्या अझै बढ्ने अनुमान "

शुक्रबारदेखि परिरहेको अविरल वर्षाको कारण संघिय राजधानीकै जनजीवन अस्तव्यस्त मात्रै होइन २३ नागरिकले ज्यान नै गुमाउनु परेको छ । एक सातादेखि नै मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण गएको मंगलबारदेखि देशभर हल्लादेखि भारी वर्षा हुने बताएको थियो ।

महाशाखाले पूर्वजानकारीलाईसमेत राज्य संयन्त्रले नै गम्भीर रुपमा नलिँदा राजधानीमै परेको वर्षाका कारण नागरिकले ज्यान गुमाउनु परेको हो । राजधानीको साना–ठूला नदी र खोलामा आएको बाढीले नागरिकको ज्यान लिएको हो । वर्षाबारे नदीखोला किनारका नागरिकलाई जानकारी नहुँदा शुक्रबार रातिदेखि नै बाढीको चपेटामा परेका हुन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौंमा ९ जनाको ज्यान गएको छ । त्यस्तै ललितपुरमा ९ र भक्तपुरमा ५ जनाको ज्यान गएको हो । उनीमध्ये केही बाढीमा परेर र केहीको पहिरोमा पुरिएर ज्यान गएको हो । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । बाढीमा परेर उपत्यकामै २३ जनाले ज्यान गुमाउनुले उद्धार र राहतमा राज्य निष्प्रभावी भएको देखाउँछ ।  यद्यपी बाढीमा परेकाहरुको उद्धारका लागि सेनाले हेलिकोप्टरसमेत प्रयोग गरेको छ ।