कोशी नदीमा पानीको बहाव अत्यधिक, रातो झण्डा देखाइयो

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव अत्यधिक चरम खतराको तह पार गरेको छ।

शनिबार दिउँसो २ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। पानीको सतह बढ्ने क्रममा रहेको जनाइएको छ।

कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६  ढोका खुला गरिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिनुका साथै राती झण्डा देखाइयो छ।

कोशी नदीमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ।कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो। जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो।

कोशी ब्यारेज बेनपछिको सुरुवाती वर्षहरूमा कोशी नदीमा बालुवाको सतह कम थियो। वर्षाको पानी माथिबाट गेग्रान बोकेर आउदैन्थ्यो। र, बहाव बढ्दा पनि बाँध र पुलमा जोखिम कम हुन्थ्यो। तर, पछिल्ला वर्षहरूमा वर्षा हुँदा पानी भन्दा अधिक गेग्रान बोकेर कोशीमा बाढी उर्लिदा जोखिम बढाउने गरेको जलाधार विज्ञहरू बताउँछन्। अझ, कोशी पुल निश्चित आयु पनि पार गरिसकेकोले खतरा जोखिम झन् बढाएको छ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा कोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। तटबन्ध भत्काएर कोशी बस्ती पस्दा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए।

ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो।

भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन्।

कोशीमा बहाव उच्च भएपछि भारतको बिहार राज्री पटनास्थित जल संसाधन विभागकाले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए। जारी सूचनाअनुसार शनिबार (आज) कोशीमा जलस्तर ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान छ।