मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता(नामसहित)

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा बाढीले बगाएका ६ जना विद्यार्थीको परिचय खुलेको छ। शनिबार (आज) बिहान सिस्नेरीमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको थियो। 

बाढीले बगाएका उनीहरूको परिचय खुलेको हो। बेपत्ता विद्यार्थीहरूमा काठमाडौँका एकजना रहेका छन् भने मकवानपुरमा तीन र अन्य स्थानका दुईजना रहेका छन्।

जसमा काठमाडौँका रियान्स आचार्य, मकवानपुरका अनुपम घलान, दिवस बानियाँ र सुमन योञ्जन रहेका छन्।यस्तै, सर्लाहीका आदित्य वलम्पाकी र निजगढका विकल रेग्मी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए।

आज बिहान कुलेखानी जलविद्युत् केन्द्रको ड्याम खोल्दा सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका थिए।

कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताए। उनका अनुसार हालसम्म पनि उनीहरुको अवस्था अज्ञात छ।