खोलाले बगाएकाे बुलेटमा थियाे ६ मेट्रिकटन ग्यास, समुदायलाई जोखिम कति ?

अविरल वर्षाका कारण खोलाले बगाएर मनोहरामा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ ।

नेपाल आयल निगमका अनुसार सो बुलेटमा उक्त परिमाणमा ग्यास रहेको हो । निगमका निर्देशक मनोज ठाकुरका अनुसरा सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ । 

 

उक्त बुलेट पशुपति अटो नामक कम्पनीको हो । यसले ग्यासबाट चल्ने गाडीहरुमा रिफ्युलिङको काम गर्दै आएको थियो । अविरल वर्षाले प्लान्ट नै बगाएपछि बुलेट समेत बगेको पाइएको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए । 

बुलेटमा ग्यास कम भएको तथा खोलाको बीचमा भएका कारण धेरै जोखिम नरहेको अध्यक्ष घिमिरे बताउँछन् । तर, खोलाको बहाबले बुलेटलाई किनारा लगाइदियो भने यसले असर गर्नसक्ने उनको भनाइ छ ।

सिलिन्डरभित्र ग्यास चाप पानीको भन्दा बढी हुने भएकोले तौल पनि बढी हुन्छ । त्यसैले बुलेट तैरिँदैन । लिक भइरहेको ग्यास खोलाकै बीचबाट उडेर सकिए यसको जोखिम कम हुने घिमिरे बताउँछन् ।