विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं : प्रधानमन्त्री ओली

देशभर जारी अविरल वर्षाले जनधनमा व्यापक क्षति पुर्‍याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र भेलको जोखिमबाट जोगिन र उद्धार कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

ओलीले लेख्छन्-

 

आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ। केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने छ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं।