बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता ७६४ जनाको उद्धार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ।

बाढीपहिरालगायत विपद्‌मा कयाैं जना घाइते र बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार हालसम्म ११ जना मृत्यु, १० जना बेपत्ता र ७६४ जनाकाे उद्धार गरिएको छ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ। पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले सुनाए।

उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ। प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन्।

२८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।