काभ्रेमा पहिरोले गाउँ नै बगायो

 

काभ्रेको पनौती नगरपालिका-११, बल्थलीमा पहिरोले गाउँ नै बगाएको छ।

निरन्तर वर्षाका कारण शुक्रबार राति पहिराले गाउँ नै बगाएको हो।मध्यराति आएको पहिरोबाट जोगिन पीडितहरू भागाभाग गरे पनि ४ जना पहिरोमा पुरिएर बेपत्ता भएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले जनाकारी दिए। उनका अनुसार उक्त गाउँमा ११ घर थिए। 

पहिरोमा परेर बेपत्ता हुनेमा स्थानीय अर्जुन भण्डारीका घरमा पाहुना लाग्न आएका व्यक्तिहरू रहेको नगर प्रमुख भण्डारीले जानकारी दिए।

घटनास्थलसम्म पुग्ने स्थिति नरहेको सुनाउँदै उनले शनिबार बिहान नेपालखबरसँग भने, ‘पहिरो झरेको झर्‍यै छ। ४ जना पहिरोमा हराएकालाई उद्धार गर्न जान सक्ने अवस्था छैन। अन्य भने सुरक्षित स्थानमा राखिएको छ। पहिरोमा परेर के कति क्षति भयो भन्ने विवरण संकलन गर्न पनि भ्याइएको छैन।’

नगरप्रमुख भण्डारीका अनुसार स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ। रातको समय र निरन्तर पहिरो गइरहेकाले क्षतिको थप विवरण आउन बाँकी छ।