विश्वम्भरले रोपे द्वन्द्वको बिउ, अब सपनाको पालामा मात्र नियुक्ति

काठमाडौँ, १२ असोजः हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनको टिमको चालबाजी बुझ्न नसक्दा आगामी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल सकसपूर्ण बन्ने निश्चित भएको छ । उस्तै परे अब उनले उच्च र सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिसमेत गर्न सक्ने छैनन् । 

प्रधानन्यायाधीश श्रेष्ठको जोडबलमा शुक्रबार सर्वोच्च अदालतमा दुइ न्यायाधीश नियुक्तिको सिफारिस न्याय परिषदबाट भएको छ । यो सिफारिस एक त श्रेष्ठ घर जाने बेलामा उनकै जिद्दीमा गरिएको छ । अर्कोतिर यसले मात्र सर्वोच्च अदालतको खाँचो पूर्ति गर्दैन । किनभने ६ जना न्यायाधीश सिफारिस गर्नुपर्नेमा २ जना मात्र पठाउनु युक्तिसंगत छैन । 

अझ त्यसमाथि नित्यानन्द पाण्डेजस्ता यसअघि विशेष अदालतमा नै असक्षम र अयोग्य सावित भइसकेका न्यायाधीश राजनीतिक शक्तिको आड अनि सुदूरपश्चिमको क्षेत्रीय नाता लगाएर सर्वोच्च आइपुग्दै छन् । जसले सर्वोच्चको साख, कार्यसम्पादन दरमा कत्ति पनि योगदान गर्ने अपेक्षा गर्न सकिँदैन ।

नृपध्वज निरौला यसअघि नै सिफारिस हुनुपर्नेमा कुनै शक्तिकेन्द्रको दबाबमा श्रेष्ठले दबाइरहेका थिए । निरौलाजस्ता न्यायाधीशलाई पाखा लगाएको आरोप खेपेर अवकाश हुँदा त्यसले अरु धेरै क्षति हुन सक्ने डर त छँदै थियो । त्यसमाथि नित्यानन्दलाई मात्र सिफारिस गर्दा अरु धेरै अवगाल आउन सक्ने भएकाले सन्तुलन मिलाउन र बहाना पुर्याउन मात्र श्रेष्ठले निरौलाको नाम राखेर संसदीय समितिमा पठाएका छन् । 

आफ्नो अहं सिद्धिका लागि श्रेष्ठले गरेको यो अधकल्चो निर्णयले बार झनै चिढिएको छ । प्रधानन्यायाधीश श्रेष्ठकै कारण बारसँग अब सम्बन्ध सुधार्नै नसक्ने गरी वरिष्ठतम् न्यायाधीश राउत पनि अर्को कित्तामा पुगेका छन् । किनभने बारको विरोधका बीच न्याय परिषद्ले न्यायाधीश सिफारिस गर्दा राउतले पनि हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले जेजे प्रस्ताव ल्याउँछन्, त्यसमा सहमति जनाउनु र सही गर्नुमै राउतको भूमिका सीमित देखिएको छ । उनको स्वतन्त्र मत कतै देखिँदैन । उनको स्वतन्त्र अस्तित्व कहीँ देखिँदैन । श्रेष्ठसँगै सती जाँदा राउतले अब आफ्नो कार्यकालभरि बारसँग जोरी खोजेर बिताउनुपर्ने भएको छ ।

अहिले बारले प्रधानन्यायाधीश श्रेष्ठमाथि उनी जति चर्का नारा र आरोप लगाउँदै छन्, ती नारा र आरोप केवल श्रेष्ठका विरुद्ध पनि होइनन् । यसको उचित हिस्सा राउतले पनि पाउँछन् । यति गम्भीर र संगीन आरोप लगाउने बारसँग राउतले कसरी लवज मिलाउन सक्लान् ?

पहिला त अहिलेको नियुक्तिकै बारेमा बारको चित्त बुझ्ने गरी जवाफ दिनुपर्नेछ । बारले उठाएका विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेछ । तर बारको बुझाइ के छ भने राउत श्रेष्ठभन्दा पनि चर्का कर्मचारीवादी भएका छन् । श्रेष्ठको भन्दा राउतको अडान र जिद्दीले बार पानीमा रूझेर छाता ओढेर न्याय परिषद्का दैलामा ढुक्नुपर्ने अवस्थामा पुगेको हो ।

राउतले अब आफ्नो कार्यकालमा किन पनि सिफारिस गर्न सक्ने छैनन् भने एक त उनको कार्यकाल धेरै छैन । डेढ वर्षे कार्यकालमा उनले सुरुमा त न्याय परिषद् सदस्यकै रिक्तता बेहोर्नेछन् । दसैँ तिहार छठजस्ता चाडपर्वहरु सकिएपछि न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठ बिदा हुनेछन् ।

उनको ठाउँमा बारले नयाँ मान्छे पठाउनुपर्नेछ । बारबाट को जान्छन् भन्ने ठेगान गर्न सहज छैन । यसअघि चुनाव नै गरेर पठाइएको थियो । यसपालि त झन् शेरबहादुर देउवादेखि रमेश लेखकसम्मका नेतासँग गोपालकृष्ण घिमिरेले जोरी खोजेपछि अबको निर्णय झन् सहज हुने छैन । नेपाली कांग्रेस पार्टीभित्रका दुई खेमा बारमा पनि देखिनेछन् । 

बारको कार्यकाल पनि सकिँदै छ र नयाँ नेतृत्वका लागि चुनाव हुँदै छ । त्यसले सिफारिसलाई झन् पेचिलो बनाउनेछ । अझ कानुनमन्त्री चौरसिया र यो सरकार कहिलेसम्म जान्छ भन्ने पनि ठेगान छैन । न्यायपालिकामा अहिले देखिएको रिक्तता र अस्थिरताको घनचक्करका पछाडि राजनीतिक अस्थिरता पनि मुख्य कारण हो । त्यसकारण अब राउतका पालामा न्यायाधीश नियुक्ति भनेको आकाशको फलजस्तै हुनेछ । 

न्याय परिषद् सदस्यमा अब सपना प्रधान मल्ल भित्रिँदै छन् । श्रेष्ठले अहिले बारसँग सम्बन्ध बिगार्नुका पछाडि राउतका पालामा नियुक्ति नहोस् भनेर नै पनि हुन सक्छ । राउतका पालामा नभए सपना प्रधान मल्लका पालामा होस् भन्ने चाहना श्रेष्ठ समूहको हुन सक्छ । यो सहज अनुमान लगाउन सकिने विषय पनि हो । सपनाका लागि ठाउँ मलिलो बनाउन श्रेष्ठले यो हदसम्म गरेको चलखेल बुझ्न नसक्नु राउतको भयानक कमजोरी हो ।