यौन उत्तेजना नहुने समस्या महिलामा किन बढ्न थाल्छ ?

काठमाडौँ, १२ असोजः वैवाहिक जीवनमा खुसी रहन यौन जीवनको पनि अहम् भूमिका हुन्छ । तर उमेर ढल्किंदै जाँदा शरीरमा आउने परिवर्तनले यौन जीवनलाई पनि प्रभावित पार्न सक्छ । जसको असर मानसिक र शारीरिक सम्बन्ध दुवैमा पर्छ ।

महिलामा यौनलाई लिएर परिवर्तन आउने कारणमध्ये एक हुनसक्छ, फिमेल सेक्सुअल अराउजल डिसअर्डर ।

के हो ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ ?

महिलामा यौनको इच्छा कम हुने अवस्थालाई ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ भनिन्छ । यस्तो समस्या हुँदा महिलामा यौनको चाहनाले उत्तेजना अनुभव हुँदैन । त्यस कारण यसलाई हाइपोएक्टिभ डिसअर्डर पनि भनिन्छ ।

यो समस्या भएमा महिलामा कामोउत्तेजना कम जागृत हुने र दुखाइपूर्ण यौनक्रियाको सामना गर्न सक्छिन् । ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ महिलामा देखिने यौनरोगमध्ये दोस्रो नम्बरमा आउने आम यौन रोग हो ।

यौन उत्तेजना नहुने समस्या महिलामा किन बढ्न थाल्छ ?

यौन उत्तेजना कम हुनुमा महिलाको उमेर, खानपान, मानसिक स्वास्थ्य र सम्बन्धको समयावधिमा भर पर्छ । अर्थात् जुन महिलाको जीवनशैली अनियमित छ र यौन जीवन स्वस्थ छैन, यौन रुचि र उत्तेजना कम हुन थाल्छ । विशेषगरी ५० वर्ष आसपास वा त्यसभन्दा बढी उमेरका महिलामा रजोनिवृत्तिका कारण पनि यौन उत्तेजनामा कमी हुने समस्या देखिन्छ ।

यौन इच्छामा कमी

महिलामा यौन उत्तेजना नहुने समस्या भएकाहरूमा कामेच्छामा कमी आउन थाल्छ । यौनक्रिया गर्ने क्रममा उत्तेजना चाहेर पनि ल्याउन नसक्दा उनीहरू अत्यधिक चिन्तित हुन्छन् । उनीहरूमा बढ्दो उमेरसँगै यो समस्या गम्भीर हुन थाल्छ ।

यौन क्रियाकलापमा पहलको प्रयास नै नहुने

यौन इच्छा नहुनुको कारण यौन जीवनको बारेमा कल्पना पनि नगर्नु हो । यस्तो अवस्थामा आफ्नो पार्टनरसँग यौन आनन्द लिन कुनै विकल्प वा समाधान खोज्न पनि मन नहुन सक्छ । यसको प्रभाव दम्पतीको दाम्पत्य जीवनमा देखिन्छ ।

यौनांगमा यौन संवेदना महसुस

यो समस्याबाट पीडित महिलाले यौन सम्बन्धको समयमा यौनाङ्ग र सो वरपर पुरुषले स्पर्श गर्दा पनि कुनै प्रकारको संवेदना महसुस नगर्न सक्छन् । लामो समयसम्म उत्तेजित नहुनाले यौन सम्पर्क पीडादायी हुन्छ ।

कारण

हर्मोनल असन्तुलन

यौन इच्छाको मुख्य कारण हर्मोन असन्तुलन हुनसक्छ । विशेषगरी रजोनिवृत्ति, गर्भावस्था र गर्भनिरोधक चक्की बढी खाएमा ‘एस्ट्रोजेन’ र ‘टेस्टोस्टेरोन’ हर्मोनको सन्तुलन बिग्रिन सक्छ । जसले उत्तेजना कम हुन थाल्छ र यौनमा रुचि कम हुन थाल्छ ।

योनी रस कम हुनु

यौन सम्बन्ध राख्दा महिलाको योनीबाट प्राकृतिक रूपमा चिप्लो पानी आउँछ । यसको काम भनेको यौन सम्बन्ध कायम गर्न सहज गराउनु हो । तर रजोनिवृत्ति भइसकेका वा सो अवस्था नजिक रहेका महिलामा त्यस्तो पानी कम उत्पादन हुन्छ ।

योनी सुक्खा भएपछि यौन सम्पर्क पीडादायी हुन जान्छ । पीडादायी हुने डरले पनि यौन इच्छा कम हुन थाल्छ ।

जर्नल अफ सेक्स एन्ड म्यारिटल थेरापीका अनुसार लुब्रिकेन्टको प्रयोगले यसको स्तर बढाउन सकिन्छ । जसले  यौन अनुभूतिमा पनि सुधार हुन थाल्छ र यौन जीवन सहज हुन थाल्छ ।

औषधि

एन्जाइटी, उच्च रक्तचाप, क्यान्सर, डिप्रेसनका केही औषधिको सेवनले शरीरमा परिवर्तन आउँछ । यसको प्रभाव यौन स्वास्थ्यमा पनि देखिन्छ । जसकारण महिलाले यौन उत्तेजनाको समस्याको सामना गर्नुपर्ने हुन्छ ।

मानसिक तनाव

सम्बन्धमा बढ्दो तनावले यौन स्वास्थ्यलाई असर गर्छ । जसले गर्दा पार्टनरसँगको भावनात्मक लगाव कम हुन थाल्छ, जसको असर यौन जीवनमा देखिन थाल्छ । यसबाहेक, डिप्रेसन वा जे कुरामा पनि आफूलाई दोषी देख्ने भावना पनि यो समस्याको कारण बन्न सक्छ ।

समस्याबाट कसरी बाहिर निस्कने ?

यस समस्याबाट बाहिर आउन चिकित्सकको सुझाव अनुसारको केही स्वास्थ्य परीक्षण आवश्यक हुनसक्छ ।

चिकित्सकले हर्मोनमा समस्या देखिए हर्मोनल थेरापी गर्न सुझाउन सक्छन् । जसले शरीरमा एस्ट्रोजेन र टेस्टोस्टेरोन हर्मोनको स्तरलाई सन्तुलनमा ल्याउन मद्दत गर्छ ।

यसबाहेक मनोचिकित्सकको सल्लाहले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । साथै, यौन उत्तेजना कायम राख्न यौन चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।

तर यौन उत्तेजना बढाउने भन्दै बजारमा निस्किएका औषधिहरु विना परामर्श हचुवाको भरमा खानु हुँदैन । यस्ता औषधिको आफ्नै साइड-इफेक्ट हुन्छ । त्यसैले अनुभवी चिकित्सकको सल्लाहमा मात्र कुनै ठोस कदम चाल्नु उपयुक्त हुन्छ ।