२५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु

काठमाडौँ, ११ असोज : काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु भएको छ ।  काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वल्ड (मेलो)’ को संयुक्त आयोजनामा आजदेखि तीनदिने सम्मेलन सुरु भएको हो ।  

सम्मेलनमा विभिन्न देशका एक सय २० र नेपालका ८० गरी दुई सय जनाको सहभागिता रहेको र तीन दिनमा विभिन्न विषयका एक सय २० वटा कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको सम्मेलनका मिडिया तथा प्रचार संयोजक डा काशिराज पाण्डेले जानकारी दिनुभयो । 

सम्मेलनमा साहित्य र प्रकृतिसँगको सम्बन्ध विषयमा केन्द्रित रहेर प्रा कृष्णचन्द्र शर्मा, प्रा आनन्द शर्मा, प्रा रामचन्द्र पौडेल र प्रा जीवलाल सापकोटालगायत सहभागी समूहको छलफल मुख्य आकर्षणका रूपमा रहेको उहाँले बताउनुभयो । 

प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन–बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप–शीर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूका विभिन्न पृष्ठभूमिलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा पहाड र पर्वतारोहण, समथल क्षेत्र र सम्भावना, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनका प्रतिविम्ब, महासागर तथा नियात्रा जस्ता विषयहरूमा समेत कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । 

सम्मेलनले साहित्य, संस्कृतिलगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरण, आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्ध र विश्वभर फैलिएको व्यावसायिकीकरणका प्रभाव विषयमा सामूहिक छलफल, बौद्धिक विमर्श र बहसका लागि मञ्च प्रदान गर्ने संयोजक डा पाण्डेले जानकारी दिनुभयो । 

कार्यक्रमको उद्घाटन सत्रमा मेलोका अध्यक्ष प्रा मञ्जु जाइड्काले नेपालमा सम्मेलन भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले विश्व साहित्यमा मानव र प्रकृति बीचको सम्बन्धलाई सुक्ष्म विश्लेषण र समालोचना गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रा विजय केसी, प्रा मनप्रीत कौर, प्रा हेमराज काफ्ले, नारायण निरौला, प्रा कृष्णन उन्नीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।