लागूऔषध कारोबार गरेको आरोपमा प्रहरी हवल्दारसहित तीन जना पुर्पक्षका लागि थुनामा

 लागूऔषध कारोबार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा चितवन राप्ती नगरपालिका–१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर २ का ३६ वर्षीय सुनिल मोक्तान र तनहुँ घर भई चितवनमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय निमबहादुर गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

हवल्दार गुरुङ इलाका प्रहरी कार्यालय भण्डारा चितवनमा कार्यरत थिए। तीनै जनालाई भीमफेदी कारागार पठाइसकेको छ। गुरुङ पक्राउ पर्नेवित्तिकै निलम्बित भइसकेका छन्। गत असार १२ गते हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे प्रहरी चौकीका प्रहरीले हेटौँडाबाट पथलैयातर्फ गइरहेको ना ५ ख १११८ नम्बरको डिब्बा गाडी रोकेर जाँच गर्दा १ सय ६२ केजी गाँजा फेला पारेको थियो।

गाडीमा फल्स्वटम बनाएर १६ वटा प्लास्टिकको पाकेटमा गाँजा प्याक गरी लुकाएर ल्याएका थिए। प्रहरीले गाँजासहित गाडी चालक धनबहादुर र सुनिललाई पक्राउ गरेको थियो। उनीहरुको बयानअनुसार हवल्दार गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो।