पाकिस्तानमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि : थिङ्क ट्याङ्क

क्वेटाको पूर्वी बाइपास नजिकैको एक प्रहरी भ्यानलाई लक्षित गरी भएको विस्फोटमा १२ जना घाइते भएका छन् ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले प्रहरी भ्यानलाई लक्षित गरि आक्रमण भएको पुष्टि गर्नुभयो । बलुचिस्तान स्वास्थ्य विभागले विस्फोटमा घाइते भएका १२ जना व्यक्तिको विवरण पनि जारी गरेको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको र बम डिस्पोजल टोलीले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेको प्रवक्ताले बताउनुभयो ।यस महिनाको सुरुमा, सेप्टेम्बर १४ मा, क्वेटाको कुचलक सहरमा अधिकारीहरूलाई लक्षित गरी भएको बम विस्फोटमा दुई प्रहरीको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

इस्लामाबादमा रहेको थिङ्क ट्याङ्क पाकिस्तान इन्स्टिच्युट फर पिस स्टडीज –पीआईपीएसले राखेको तथ्याङ्कअनुसार जुलाईमा ३८ वटाको तुलनामा अगस्टमा ५९ वटा हमलाहरू रेकर्ड गरिएकाले पाकिस्तानमा आतङ्कवादी गतिविधिमा तीव्र वृद्धि भएको देखिएको छ ।

अगस्टको अन्त्यमा, प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) सँग सम्बन्धित लडाकूहरूले सुरक्षा बल र सर्वसाधारण दुवैलाई लक्षित गर्दै बलुचिस्तानमा धेरै आक्रमणहरू गरेको थियो ।