प्रधानमन्त्री ओली र मन्त्रीहरुको राजीनामा माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुको राजीनामा माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले दोषी किटान गरेका व्यक्तिलाई सहकारी बोर्डको सदस्य बनाइएको भन्दै सिन्धुलीका युवराज सफलले प्रधानमन्त्रीको राजीनामा मागिएको उजुरी दर्ता गराएका हुन् । प्रधानमन्त्रीको निजि सचिवालयमा दर्ता भएको उजुरीमा छानविन समितिले दोषी ठहर्याएको संगीता तामाङलाई सरकारले सहकारी विकास बोर्डको सदस्यमा नियुक्त गरेको दावी गरिएको छ । 

सहकारी ठगीमा दोषी करार गरिएको व्यक्तिलाई स्वार्थको द्वन्द्वबमोजिम नियुक्त गर्नै नमिल्ने निकायमा नियुक्ति दिइएकाले क्याविनेटका सबै मन्त्रीहरुले नैतिकताको आधारमा पद छोड्नुपर्ने युवराजको जिकिर छ ।  

‘...संगीता तामाङलाई बोर्ड सदस्य बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन माग गर्दछु’, उजुरीमा भनिएको छ, ‘मन्त्रिपरिषद्मा बसेर सहकारी ठगीमा संलग्न व्यक्तिलाई सहकारी विकास बोर्ड सदस्य बनाउने निर्णयमा साथ दिने सबै मन्त्रीहरुलाई पनि नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछु ।’

संसदीय छानविन समितिले गोर्खा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र शिवशिखर सहकारीको १२ अर्ब ६१ करोड रकम हिनामिनामा संगीता संलग्न रहेको प्रतिवेदन तयार पारेको थियो । तर, गत साता क्याविनेट बैठकले उनलाई कांग्रेस कोटाको महिला सहकारी कायकर्ता क्षेत्रबाट बोर्ड सदस्य नियुक्त गरेको हो ।