अलराउन्डर वरियतामा सन्दीपको छलाङ, एकैपटक २२ स्थान सुधार

 नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गरेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीप ४१औँ स्थानमा उक्लिए । 

अलराउन्डर वरियतामा नेपालका दीपेन्द्रसिंह ऐरी ४८औँ, कुशल मल्ल ५१औँ, सोमपाल कामी ५३,औँ करण केसी ७६औँ, गुलशन झा ९०औँ र ललित राजवंशी ९४औँ स्थानमा छन्।

दीपेन्द्र र कुशल ६ स्थान तल झर्नुभएको हो । यस्तै करणले ११, गुलशनले १३ र ललितले एक स्थान सुधार गर्नुभएको छ । सोमपाल यथा स्थानमा छन्। अलराउण्डर  वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नवी छन्। 

यस्तै ब्याटिङतर्फ आसिफ शेख ७९औँ, कुशल भुर्तेले ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा हुनुहुन्छ । रोहितको वरियता यथावत रहेको छ भनेआसिफ ११ र कुशल चार स्थान तल झरेका  छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्षस्थानमा छन् । 

बलिङतर्फ सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ,  करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा छन्।  बलिङमा सन्दीपको वरियता यथावत छ भने ललित दुई, दीपेन्द्र एक र सोमपाल १३ स्थान तल झरे । करणले चार स्थान सुधार गरे । 

बलिङ वरियताको शीर्षस्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन्। एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ । यसअघि १६औँ स्थानमा रहेको नेपाल १७औँ स्थानमा पुगेको हो । शीर्षस्थानमा भारत यथावत छ ।