फ्रान्सका डिफेन्डर राफायल भरानले लिए फुटबलबाट सन्न्यास

फ्रान्सका डिफेन्डर राफायल भरानले ३१ वर्षको उमेरमा फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । 

रियल मड्रिड र ग्यानचेस्टर युनाइटेडका डिफेन्डर गत जुलाईमा इटालियन टोली कोमोसँग फ्रि- ट्रान्सफरमा अनुबन्ध भएका थिए। तर, गत महिना सम्पडोरियासँगको डेब्यू खेलमा उनको घुँडामा चोट लागेको थियो । भरानले उनी क्लबमा नै खेलाडीबाहेकको भूमिकामा रहने बताएका छन् ।

भरनाले फ्रेन्च टोली लेन्सबाट आफ्नो करियरको सुरुवात गरेका थिए । तर, सिनियर टोलीमा एक वर्षमात्र बिताएर उनी सन् २०११ मा रियल मड्रिडसँग अनुबन्ध भएका थिए ।

१० वर्ष रियलमा बिताएका उनले त्यहाँ १८ वटा उपाधि जितेका थिए। यसमा ३ वटा ला लिगा र ४ वटा च्याम्पियन्स लिगको उपाधि सामेल छन् ।

सन् २०२१ मा ३.४ करोड पाउन्डमा ओल्ड ट्राफोड आएका उनले क्लबका लागि ९५ खेल खेले । यस क्रममा उनले सन् २०२२ मा काराबाओ कप र गत मेमा एफए कपको उपाधि जिते ।

उनले सन् २०१३ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । ९३ खेल खेल्दै उनले सन् २०१८ मा विश्वकपको उपाधि जितेका थिए । सन् २०२१ मा नेसन्स लिगको उपाधि जित्नुका साथै उनी सन् २०२२ को विश्वकपको फाइनलमा पुगेका थिए ।