निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै गाउँलेले रोके हेलिकप्टर उडान

निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाले उत्तरी गोरखामा हेलिकप्टर उडानमा रोक लगाएका छन् । बुधबार सामागाउँको हेलिप्याडमा जम्मा भएर गाउँलेहरुले हेलिकप्टर ल्याण्ड गर्न दिएका छैनन् । विरोधस्वरुप उनीहरुले हेलिप्याडमा ढुंगा थुपारेका छन् भने झण्डा पनि गाडेका छन् ।

निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलिकप्टर उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग उनीहरुको छ । सम्बन्धित निकायले आफ्नो मागलाई बेवास्ता गरेका कारण हेलि उडानमा रोक लगाइएको स्थानीय मिङमार लामाले बताए ।

‘आठ दिनअघि नै हामीले हेलि उडान रोक्ने भनेका थियौं’, उनले भने, ‘सम्बन्धित निकायले तपाईको मागहरु लिखित रुपमा ल्याउनुस् भनेपछि गाउँ भेलाबाट निर्णय गरेर लिखित रुपमा मागहरु गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा पठायौ ।’ पाँच दिनभित्र माग पूरा गर्न भनेपनि पुरा नभएपछि बिरोध स्वरुप हेलि उडान रोकेको उनले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले निषेधित क्षेत्र खुल्ला गरिदिन पटक पटक माग राख्दै आएपनि सरकारले बेवास्ता गर्ने गरेको बताए । ‘स्थानीयको यो माग धेरै पहिलेदेखिको हो, प्रधानमन्त्रीसम्मलाई डेलिगेसन र ज्ञापन पत्र त स्थानीयले कति बुझाए बुझाए’, उनले भने, ‘तर सरकारले एक कानले सुन्ने अर्काे कानले उडाउने गर्‍यो ।’ अहिले हेलिकप्टर बन्द गर्नु त्यहाँको जनताको बाध्यता रहेको भन्दै उनले स्थानीयको समर्थन गरे ।