बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने

बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।

बङ्गलादेश बैङ्कका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ । 

केन्द्रीय बैङ्कले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैङ्कले अन्य बैङ्कका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो। 

बङ्गलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा ११.६६ प्रतिशतको उच्च रेकर्डपछि लगातार दोस्रो महिना दोहोरो अङ्कमा कायम रहेको थियो ।