ममता काफ्ले प्रकरण : भेटिए थप प्रमाण, अहिले सम्म के के प्रमाण भेटिए ?

अमेरिकाको भर्जिनियामा झन्डै २ महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्ट अझै फेला परेकी छैनन्। 

भर्जिनियाको मनासस पार्कस्थित घरबाट गत साउन १६ (जुलाई ३१) देखि बेपत्ता २८ वर्षीया ममताको अवस्था अझै पत्ता लाग्न नसकेको हो। 

तथापि त्यहाँको प्रहरीले उनको हत्या भइसकेको अनुमान गरेको छ। ममताको शरीर लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् ३७ वर्षीय नरेश भट्ट हाल हिरासतमा छन्।  

नेरशविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ। पछिल्लोपटक यही असोज ४ गते (सेप्टेम्बर २०) मा भएको सुनुवाइमा नरेशलाई रिहा गर्न अदालतले अस्वीकार गरेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रबारको बहसमा अभियोजकहरूले थप प्रमाण पेस गरेपछि अदालतले उनलाई धरौटी रिहा गर्न नमानेको हो। नरेश भट्टले भर्जिनियाका वरपर विभिन्न स्थानमा फोहोरका कन्टेनरमा फोहोरका झोला डिस्पोज गरेको भिडिओ पाइएको दाबी अभियोजकरूले गरेका छन्। 

यस्तै श्रीमती बेपत्ता भएपछि भट्टले रबराइज्ड पन्जा, चक्कु, अतिरिक्त ठूला भण्डारण झोला र सरसफाइका सामान किनेको भिडिओ पनि आफूहरूसँग रहेको अभियोजकहरूले बताएका छन्। 

नरेश भट्टको मास्टर बेडरुम र मास्टर बाथरुममा ममताको शव घरमै रहेको संकेत पाइएको अभियोजकहरूको भनाइ छ। नरेशले गत जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री खरिद गरेको समेत खुलेको बताइएको छ।

सरसफाइका सामान  अपराधस्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने आशंका अधिकारीहरूले गरेका छन्। यस्तै ममताका विषयमा नरेशले अमिल्दा बयान दिएको अभियोजकको दाबी छ।

अदालती कागजातमा गत जुलाई ३० वा यसआसपास नरेशले घरमै पत्नी ममताको हत्या गरेको उल्लेख गरिएको छ।अनुसन्धानका क्रममा उनको मृत्युसँग मिल्दाजुल्दा डिजिटल र फोरेन्सिक प्रमाण पनि भेटिएको दाबी गरिएको छ।त्यस्तै हत्यापछि शव घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको दाबी पनि अदालती कागजातमा गरिएको छ।

यसअघि ममता बेपत्ता हुनुभन्दा महिनौँअघि नरेशले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भनेर गुगल सर्च गरेको पाइएको अभियोजकले अदालतमा बताएका थिए।