साफ यू-१७ : जित्नैपर्ने दबाबमा नेपालले आज भुटानसँग भिड्दै

भुटानमा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टिमसँग खेल्न लागेको हो । 

समूह ‘बी’ मा रहेको नेपाल र भुटानबीचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पनि खेल्ने छन् । पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो पौने २ बजे सुरु हुने छ ।

नेपाल र भुटानबीचको खेल भने साँझ पौने ६ बजे सुरु हुनेछ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने बाध्यता छ । भुटानलाई भने सेमिफाइनल पुग्न बराबरी खेले पर्याप्त छ ।

भुटान र पाकिस्तानले समूह ‘बी’ मा अपराजित रहँदै समान ४ अंक जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ । यस्तै, पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अंकसहित नेपाल तेस्रो स्थानमा छ ।

भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । श्रीलंका भने प्रतियोगिताबाट बाहिर भइसकेको छ । समूह ‘ए’ बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भइसकेका छन् ।