स्याउको बोक्राका यति धेरै फाइदा, जानाैँ !

स्याउ स्वास्थ्यका लागी निकै लाभदायक फल हो । चिकित्सकहरू भन्ने गर्छन् दैनिक एउटा स्याउको सेवन गर्नुभयो भने तपाई अस्पताल जानु पर्दैन ।

स्याउलाई बोक्रैसित खानु स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक मानिन्छ । तर आजभोलि स्याउको बोक्रालाई टल्काउन, आकर्षक बनाउन विभिन्न थरीका अस्वस्थकर प्रक्रिया अपनाउने गरिएकोले बोक्रासहितको स्याउ खानुअघि यो पूर्णतः सुरक्षित रहेको सुनिश्चित गर्नै पर्छ । स्याउको बोक्राबाट हाम्रो मिनरल्सको दैनिक आवश्यकता पूरा गर्न सकिन्छ । 

स्याउको बोक्रामा पोटासियम, फस्फोरस, फोलेट, क्याल्सियम, आइरनजस्ता मिनरल पाइन्छन् । जसले हाम्रो हाड र दाँतलाई बलियो बनाउन सघाइरहेको हुन्छ । यसमा उच्च रक्तचापसँग भिड्न आवश्यक रासायनिक तत्त्व अरूमा भन्दा ६ गुणासम्म बढी पाइन्छ । दिनहुँ एउटा स्याउ बोक्रैसित खाने गरे उच्च रक्तचाप नियन्त्रणमा आउँछ भनिन्छ ।

स्याउको बोक्रा फ्लेभानोइडस र एन्टिअक्सिडेन्टको प्राकृतिक स्रोत हो । यो मुटुका लागि राम्रो मानिन्छ । यसमा भिटामिन, खनिज, र फाइबर प्रचुर मात्रामा पाइन्छ । शारीरिक कमजोरी हटाउन स्याउ धेरै लाभदायक हुन्छ ।

बोक्रासहित स्याउ खाँदा तपाईँलाई करिब ४.४ ग्राम फाइबर प्राप्त हुन्छ । ताछेर खानुभए २.१ ग्राम मात्र फाइबर पाइन्छ । बोक्रामा पाइने पेक्टिन ले कोलेस्ट्रोल र ब्लड सुगरको स्तरलाई कम गर्छ । स्याउको बोक्राको भित्री खण्डमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।

एन्टिअक्सिडेन्टले स्वास्थ्यलाई राम्रो मात्र बनाउँदैन, हामीलाई रोगमुक्तसमेत राख्छ । स्याउको रातो बोक्रामा एन्टिअक्सिडेन्टको मात्रा अपेक्षाकृत बढी हुन्छ । स्याउको भित्री झागको दाँजोमा बोक्रामा बढी मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ ।

यसको बोक्रामा भिटामिन ‘ए’ पनि प्रशस्त हुन्छ । हाम्रो शरीरले भिटामिन ‘ए’ आँखाको विकासजस्ता महत्त्वपूर्ण प्रक्रियामा उपयोग गर्छ । एउटा ठिकैको स्याउमा भिटामिन ‘ए’ को करिब ९८ (आईयू) हुन्छ ।

स्याउको बोक्रामा भिटामिन ‘सी’ समेत प्रशस्त हुन्छ । मधुमेहको समस्यामा बढ्दो ब्लड सुगरको स्तर नियन्त्रणमा राख्नसमेत स्याउको बोक्रामा भएका तत्त्वहरूले सघाउँछन् ।