कुवेतको जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक देखि नियमित उडान गर्ने

काठमाडौँ, ९ असोजः कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक १२ गतेदेखि नियमित उडान गर्ने भएको छ । गौतम बुद्ध विमानस्थलमा सातामा तीन दिन उडान गर्ने गरी ‘विन्टर सेड्युल’ स्वीकृतिका लागि सोमबार जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पेस गरेको हो । 

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जजिरा एयरवेजले विमानस्थल सञ्चालन हुने समयमै कुवेत–भैरहवा–कुवेत उडान गर्ने गरी ‘री सेड्युल’ पेस गरेको छ । जजिराको न्यारोबडी एयरबस–३२० जहाज बिहान ६:२५ मा गौतम बुद्ध विमानस्थलमा अवतरण गरेर ७:३० बजेभित्र कुवेत फर्किने छ । 

यसअघि जजिराले राति २ बजे आएर ३ बजे फर्किने गरी प्रस्ताव पेस गरेको थियो । क्यानले उक्त समयमा उडान गर्न दिँदा ५०–६० लाख रुपियाँ अतिरिक्त खर्च बेहोर्नुपर्ने भन्दै विमानस्थल सञ्चालन समयमै उडान तालिका पेस गर्न आग्रह गरेको थियो । अहिले गौतम बुद्ध विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला गरिँदै आएको छ । 

जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार कुवेत–भैरहवा उडान गर्ने भएको छ । “क्यानको आग्रहबमोजिम जजिराले अपरेसन आवरमै उडान गर्ने गरी ‘री सेड्युल’ पेस गरेको छ जुन स्वागतयोग्य छ,” भुलले भन्नुभयो, “क्यानले विन्टर सेड्युल स्वीकृत गरेपछि जजिराले भैरहवा पुनः उडान सुरु गर्ने छ ।” 

भैरहवामा अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि पश्चिम नेपालका यात्रुलाई ठुलो राहत मिल्ने जजिराको विश्वास छ । यसअघि जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै दिन २०७९ जेठ २ गतेदेखि उडान गर्दै आएको थियो । 

मौसमका कारण देखाउँदै आठ महिनापछि पुस ६ देखि स्थागित गरेको उडान २५ फागुनदेखि सुचारु गरेको थियो । केही समय उडान गरेर फेरि रोकिएको जजिराको भैरहवा उडान कात्तिक दोस्रो सातादेखि पुनः सुचारु हुन लागेको हो । 

भैरहवा उडान गर्न थाई एयर एसिया पनि सकारात्मक रहेको क्यानका सूचना अधिकारी भुलले बताउनुभयो । “थाई एयर एसियाले अक्टोबर २ मा थाइल्यान्डबाट काठमाडौँमा पहिलो उडान गर्ने छ,” उहाँले भन्नुभयो, “उक्त उडानमा आउने थाई एयर एसियाको प्राविधिक र उच्च अधिकारीले अक्टुबर ३ गते गौतम बुद्ध विमानस्थलको अध्ययन गरेर कार्ययोजना बनाई सेड्युल पेस गर्ने छन् ।” थाई एयर एसियालाई काठमाडौँमा चार र भैरहवा चार गरी सातामा आठ उडान गर्न अनुमति दिएको क्यानले जनाएको छ ।सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाइसकेको छ । 

कार्ययोजनामा भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, सुरक्षा शुल्कमा दिइँदै आएको छुटलाई निरन्तरता दिने, ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशत छुट, हवाई इन्धनमा सहुलियत, यात्रु सेवा शुल्क र टिकटमा भ्याट छुट, अध्यागमन पूर्ण क्षमतामा सञ्चालन गर्ने, श्रम डेस्क स्थापना गर्ने, विभिन्न देशको भिसा सेन्टर स्थापना गर्नेलगायत उल्लेख छ ।