लागु औषध कारोबारको कसुरमा पक्राउ परेका ढाकाकुमार र सहकारी ठगीको कसुरमा पक्राउ परेका छविलाल एउटै हिरासत कोठामा

काठमाडौँ, ९ असोजः जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा यतिबेला करिब ६० जना थुनुवा छन्। तिनै ६० जनामध्ये २ जना चर्तित दुई पात्र छन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ र नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे।

संयोग यो छ कि यी दुवैजना रास्वपा सभापति रवि लामिछानेका पूर्वसहकर्मी–साझेदार हुन्।पूर्वसांसद श्रेष्ठ लागु औषध कारोबारको कसुरमा पक्राउ परेका हुन् भने पूर्वडीआईजी जोशी सहकारी ठगीको कसुरमा। दुई दिनदेखि उनीहरूको वास एउटै हिरासतमा छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतका ५ वटा कोठा छन्। तीमध्ये तीनवटा कोठा ठूलठूला छन्। यी कोठामा २० जनाका दरले थुनुवालाई राख्न सकिन्छ। अहिले पनि तीनवटै कोठा भरिभराउ छन्। तर दुईवटा कोठा साना छन्। तिनैमध्येको एउटा कोठामा छन्, ढाकाकुमार र छविलाल। 

ढाकाकुमार १२ दिनदेखि सोही हिरासतमा छन्। उनलाई भदौ २७ गते प्रहरीले पक्राउ गरेको थियो। उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागु औषध बिक्री भएको सूचनापछि प्रहरीले पक्राउ गरेको हो। 

त्यसअघि नै प्रहरीले दुई जना लागु औषध प्रयोगकर्तालाई पक्राउ गरेको थियो। उनीहरुको साथबाट लागु औषध बरामद भयो। उक्त लागु औषध कहाँबाट खरिद गरेको भनी अनुसन्धान गर्दा ढाकाकुमारसम्म प्रहरी पुगेको थियो।

जोशीविरुद्ध कास्कीको सूर्यदर्शन सहकारीका बचतकर्ताले गत माघमा नै जाहेरी दिएका थिए। सहकारी ठगीमा यसअघि नै मुद्दा दर्ता भइसकेको थियो। केही पक्राउ परेर पुर्पक्षका लागि थुनामा पनि गइसकेका छन्। 

सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईसहित आधाभन्दा बढी अभियुक्त भने अझै फरार छन्। 

पूर्वगृहमन्त्री रवि लामिछानेसहित जोशीविरुद्ध पनि पूरक जाहेरी परेको थियो। गत माघमै परेको जाहेरी लामिछानेले पद र शक्तिको आडमा दबाइरहेका थिए। पछिल्लोपल्ट सहकारी छानबिनसम्बन्धी संसदको विशेष समितिले प्रतिवेदन दिएपछि प्रहरी पुनः सक्रिय भएको हो। गत आइतबार जोशीलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरियो। त्यसै राति उनलाई हवाईजहाजमार्फत पोखरा लगियो।