रविलाई अब ओलीको ओत कि प्रचण्डको काँध ?

रवि लामिछाने एकातिर सत्ताबाट बाहिरिए । केपी शर्मा ओलीजस्ता शक्तिशाली नेताको संरक्षण गुमाए । संसदीय छानबिन समितिले एउटा पानामा क्लिन चिट र अर्को पानामा कारबाही सिफारिस गरेर नराम्रोसँग झुक्यायो । 

राजनीतिक साझेदार ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको देखाएर आफ्नो बहादुरीको विज्ञापन गरेका रविलाई जेलमा स्वागत गर्न तिनै ढाकाकुमार अहिले कास्की प्रहरीको हिरासतमा छन् । तिनै ढाकाकुमारलाई साथ दिइरहेका छन् रविका व्यापारिक साझेदार छविलाल जोशी बन्जाडे ।

रविका अर्का साझेदार जीबी राई पक्राउ पर्लान् नपर्लान् । तर तिनै जीबीका एक प्रतिनिधि कास्की प्रहरीको हिरासतमा छँदै छन् । रवि पनि ढिलोचाँडो अवश्य नै पुग्ने नै छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अमेरिका भ्रमणको कार्यक्रम थप नधमिलियोस् भनेर मात्र अहिले प्रहरी संयमित देखिएको छ । तर प्रहरीले रविलाई आफ्नो राडारभित्रै राखिरहेको छ । प्रहरीको कडा निगरानीका बीच रविले आफ्नो बचाउ र सफाइमा अनेकन प्रयास गरिरहेका छन् । 

मंगलबार फेसबुक लाइभमा आउँदासम्म रविको पारो निकै घटिसकेको छ । दोस्रोपटक प्रहरी हिरासतको हावा खानुपर्ने भयो भन्नेमा लगभग उनी ढुक्कजस्तै देखिएका छन् । पहिलोपटक उनी २०७६ मा आफ्नै सहकर्मी शालिकराम पुडासैनीको मृत्युको कारण जेल जानुपरेको थियो । त्यसको ५ वर्षपछि उनी प्रहरी फन्दामा पर्ने भएका छन् ।

यतिखेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रविको शक्ति आफ्नो पक्षमा उपयोग गर्न सहानुभूति दर्शाइरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते नयाँ समीकरण बनाउने सहमति भएपछि असार ३० गते माओवादी र रास्वपा बाहिरिएका थिए । 

तत्कालीन प्रधानमन्त्री प्रचण्डकै आग्रहमा रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिई विश्वासको मतको प्रक्रियासम्म पुगेको थियो । त्यही बिन्दुबाट ओली र रविको पनि दूरी बढेको थियो । जबकि २०७९ को निर्वाचनको परिणाम बाहिरिएलगत्तै रवि कुदेर बालकोट पुगेका थिए र ओलीको प्रतापले पाएको उपप्रधान तथा गृहमन्त्रीको पदमा फुरुंग परेका थिए । दोस्रोपटक पनि उनले ओलीकै प्रतापले त्यो पद पाएर चार महिना देशको सुरक्षा प्रशासन सम्हाल्ने मौका पाएका थिए ।  

पछिल्लो समय सरकारबाट बाहिरिएलगत्तै दुवै दलले विपक्षी मोर्चालाई कसिलो बनाएर मुद्दामा सहकार्य गर्ने बताउँदै आएका छन् । रविले हालै आफ्नो पार्टीको भेलामा दुई ठूला पार्टीको सहकार्यले साना शक्तिको ध्रुवीकरणका लागि धरातल बनेको विश्लेषण सुनाएका थिए ।

हालै रास्वपाका १४ नेता चीन जाँदा यता सभापति लामिछाने संकटमा परे । खासमा प्रचण्डले आफूसँग सहकार्यको वातावरण बनाउन उक्त चीन भ्रमणको तारतम्य मिलाएको थाहा पाएपछि पश्चिमा शक्तिले कतैबाट बटन दाबेको हुन सक्ने विश्लेषण पनि गरिँदै छ । नभन्दै स्वर्णिम वाग्ले नेतृत्वको टोली चीन गएको भोलिपल्टै रविले असामान्य परिस्थिति सिर्जना भएको भन्दै फिर्ता बोलाएका छन् । त्यो टोली फिर्ता हुने भएपछि रविको गिरफ्तारीको विषय पनि होल्ड भएको छ । 

रविले प्रधानमन्त्री ओलीलाई न्युयोर्कबाट फर्केपछि बसेर कुरा गरौँ रुम मिलाउँछु भन्दै सार्वजनिकरुपमै सञ्जालमा लेखेका छन् । वार्ताबाट सहकारी ठगीको विवाद मिलाउन सकिने विश्वास रविलाई कताबाट पलायो भन्ने कुरा विस्तारै खुल्दै जाला । तर सरकारका कानुनी सल्लाहकार समेत मानिने रमेश बडालले मंगलबार नै सहकारी ठगीको पैसा फिर्ता गरे मुद्दा नचल्ने निर्देशन मातहतका सबै सरकारी वकिललाई जारी गरेका छन् । यसले वार्ता र सहमतिबाट उक्त आपराधिक मुद्दा मिलाउन पृष्ठभूमिमा कतैबाट काम भइरहेको हो कि भन्ने देखिँदै छ । 

रविले अब ओलीको ओत पाउँछन् कि प्रचण्डको स्वार्थमा नाचेर संरक्षणको हारगुहार गर्छन् भन्ने त केही दिनमै थाहा होला । तर जगजाहेर नै रहेको कुरा के हो भने रविले आफ्नो भागमा परेको अंकबराबरको रकम फिर्ता गर्न सक्छन् । उनले सहकारीबाट रकम लिएको होइन भन्ने हो भने पनि ग्यालेक्सी टीभीको खातामा उनले त्यो रकम जम्मा गरे पनि तत्कालका लागि संकट टर्नेछ ।