म थुनिनुपर्छ भने पनि थुनिन तयार छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आइसकेपछिको रकमबारे अनुसन्धानका लागि आफू तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभमार्फत सभापति लामिछानेले कानुनी प्रक्रियामा आफूले पूर्णरूपमा साथ दिने बताए ।

कानुनी प्रक्रियाका क्रममा आफू हिरासतमा पनि बस्न तयार रहेको उनको भनाइ छ । तर, षड्यन्त्र गरे प्रतिवाद गर्ने उनको संकेत थियो ।

"कानुनी प्रक्रियामा मेरो पूर्णरूपले साथ रहन्छ । मैले कहाँ आउनुपर्छ, मैले बयान दिन आउनुपर्छ कि, मैले पोखरा जानुपर्छ कि काठमाडौं आउनुपर्छ कि, कहाँ जानुपर्छ, म तयार छु । म थुनिनुपर्छ कि, तयार छु । म हिरासत बस्नुपर्छ कि, म तयार छु । तर, षड्यन्त्र गरेर होइन, झुक्याएर, छक्याएर, छलेर होइन," उनले भने ।