वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

प्रचण्डको सुशासन, सहकारी ठगीका अभियुक्त दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउदै\

गत असार १७ गते कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो। कांग्रेस र एमालेबीच गठबन्धन भएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि प्रचण्डले दाबी गरेका थिए, भुटानी शरणार्थी, सहकारी लगायतको फाइल खोल्दा नयाँ गठबन्धन बन्यो।  प्रचण्डको दाबी अहिले पनि छ, सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको छ।  भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले वर्तमान सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उनी सार्वजनिक मञ्चमा बताउँदै आएका छन्।तर, प्रचण्डको सुशासनशैली भने झनै खतरनाक छ।

https://barnanmedia.com/news/detail/195503/ 

प्रधानन्यायाधीशको स्वार्थपूर्ण नियुक्ति प्रयास

आफ्ना सबै जिम्मेवारी ह्याण्डओभर गरेर अवकाशमा जांदै गरेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अवकाशको एक साता बांकी रहंदा पनि नियुक्तिकै चटारो परेको छ । प्रधानन्यायाधीश श्रेष्ठ आफ्ना केही नातेदार र कानुनमन्त्री अजय कुमार चौरसिया एकजना २० बर्षभन्दा कम समय अभ्यास गरेका कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति दिलाउने अन्तिम कसरतमा छन् । दुवैको स्वार्थले अवकाशको मुखैको कुयाममा नियुक्तिको अन्तिम तयारीमा रहेका छन् । यो नाङ्गो नाचलाई सुशासनका हिमायतिहरुले चुइक्क सम्म पनि बोल्न नसक्नुले हाम्रो लोकतन्त्र कुन अवस्थामा पुगेको रहेछ स्पष्ट गरेको छ । 

https://barnanmedia.com/news/detail/195517/ 

जाँदाजाँदै न्यायाधीशको हुल भर्ती गर्ने प्रधानन्यायाधीश श्रेष्ठको प्रयास असफल

अवकाशको मुखमा पुगेर पनि सर्वोच्च र उच्च अदालतमा न्यायाधीशको हुल भर्ती गरेर जाने रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको योजना असफल भएको छ । न्यायाधीश नियुक्तिबारे छलफल गर्न उनले गत शुक्रबार, आइतबार र सोमबार लगातार न्याय परिषद्को बैठक बोलाएका थिए । तीन दिन लागातार छलफल पनि भयो । तर नियुक्तिमा कुरा मिलेन । प्रधानन्यायाधीश श्रेष्ठले सुरुमा उच्च अदालतमा १६ न्यायाधीश नियुक्त गर्न खोजेका थिए । यसका लागि बसेको पहिलो बैठकमा कानुन मन्त्री अजयकुमार चौरसियासँग कुरा मिलेन । २० वर्ष पनि अनुभव नभएका कानुन व्यवसायीलाई न्यायधीस बनाउन चौरसियाले दबाब दिएपछि त्यो बैठक निष्कर्षविहीन भएको थियो । यता प्रधानन्यायाधीशले आफ्नै नातेदार पर्ने श्रेष्ठ थरका दुईजना कानुन व्यवसायीको नाम अघि सारेका थिए ।

https://barnanmedia.com/news/detail/195540/

छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ : रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छविलाल जोशीलाई पक्राउ गर्नुको पछाडि आफूलाई पक्राउ गर्ने उद्देश्य रहेको दावी गरेका छन्। उनले आज साँझ फेसबुक लाइभमा सहकारी प्रकरणमा विषयमा आफ्नो प्रष्टिकरण दिँदै जोशीको बयानबाट नयाँ सूचना पाइने र त्यही सूचनाका आधारमा आफूलाई पक्राउ गर्ने उद्देश्यका साथ छविलाललाई पक्राउ गरिएको बताए। उनले आफूलाई संसदीय छानबिन समितिको प्रतिवेदनले नै सहकारी ठगीमा संलग्न नभएको तर गोर्खा मिडियामा रकम आइसकेपछि आफू त्यहाँ रहेको समयमा रकम हिनामिना भएको पाइएमा मात्रै कारबाही गर्न सिफारिस गरेको जिकिर लिएका छन्।

सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू नडराएको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू नडराएको दाबी गरेका छन् ।  आज सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले साढे २ वर्षसम्म एक्लो व्यक्तिलाई सरकारले लखेटिरहेकोमा गुनासो पोख्दै सहकारी ठगी प्रकरणमा आफू सघाउन तयार रहेको बताएका हुन् । ‘साढे २ वर्षसम्म एउटै व्यक्तिलाई लखेट्ने ? मलाई समातेर पीडितलाई न्याय हुन्छ ?’ उनले भनेका छन् ।

पाकिस्तानको दुई आदिवासी समुदायबीच झडप, १५ जनाको मृत्यु

उत्तर पश्चिमी पाकिस्तानमा दुई आदिवासी जनजातिबीच भूमी सम्बन्धी विवादको द्वन्द्वमा कम्तिमा १५ जनाको मृत्यु भएको  मङ्गलबार एक स्थानीय अधिकारीले बताउनुभएको छ ।  अफगानिस्तानको सीमा नजिकैको कुर्रम जिल्लामा मोर्टारसहितका भारी हतियारका साथ दुई समुदायबीच झडप भएको हो । गत जुलाईमा पनि कुर्रम जिल्लमा दुई समुदायबीच झडप भएको थियो ।   “भूमी सम्बन्धी विवादमा सुरु भएको सुन्नी मुस्लिम मदागी र शिया माली खेल जनजातिबीचको द्वन्द्व हाल   साम्प्रदायिक झडपमा परिणत भएको छ”, कुर्रममा तैनाथ एक वरिष्ठ प्रशासनिक अधिकारीले बताउनुभयो । 

दुर्गा प्रसाईंले आरोप स्विकारे 

 सरकारी वकिलले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग उसकै कार्यालयमा आज बयान लिएको छ। उनीसँग करिब २ घण्टा बयान लिएको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन्।  बयानका क्रममा प्रसाईंले आफूमाथि लागेको आरोप कबुल गरेका छन्। यसअघि आजै सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मङ्गलबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्युरो र जिल्ला अदालत काठमाडौंसँग उनलाई पक्राउ गर्नुको कारण मागेको हो।

संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँ : कानुनमन्त्री चौरसिया

 कानुन  न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधनमार्फत मधेशी, दलित, जनजाति र मुस्लिम समुदायको अधिकारको दायरालाई अझै फराकिलो पार्दै लैजाने बताउनुभएको छ ।  यहाँस्थित पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभूत अस्पताल भवनको उद्घाटन कार्यक्रममा मन्त्री चौरसियाले भन्नुभयो,“मधेशी समुदायको अधिकार स्थापनाका लागि आफूले प्रतिनिधित्व गरेको पार्टी नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”,उहाँले भन्नुभयो,“सरकारको प्रमुख साझेदारको हैसियतले आगामी दिनमा पनि समानुपातिक समावेशिताका सवाललाई रक्षा गर्न हाम्रो पार्टी र सरकार कटिबद्ध भएर लाग्नेछ ।” 

रेशम र रञ्जिताबीच जुट्यो सहमति
 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ । नाउपाका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद मिलेपछि संयुक्त बैठक असोज १८ र १९ गते बोलाइएको हो । रञ्जिता र रेशमलालबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रञ्जिता र रेशमलालबीच सोमबार ७ असोजमा सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी एक भएका हौं र एक रहने छौं’, भन्ने सन्देश सहित रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् ।  

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो । 

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न पनि निर्देशन दिनुभयो । उहाँले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गर्नुभयो । “चाडपर्व लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई काम गर्नुस् । 

हिजबुल्लाह इजरायलविरुद्ध एक्लै खडा हुन सक्दैनः इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देश विरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भन्नुभयो ।  उहाँले “लेबनानलाई अर्को गाजा बन्न नदिन“ अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । लेबनानमा सोमबार भएको इजरायली हमलामा ३५ बालबालिका सहित करिब ५०० जनाको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

इरानका राष्ट्रपति पेजेस्कियन ब्रिक्स सम्मेलनमा भाग लिन रुस भ्रमण गर्ने, राष्ट्रपति पुटिसँग भेट्ने तयारी 

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले ब्रिक्स शिखर सम्मेलनमा भाग लिन अर्को महिना रुसको भ्रमण गर्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी रहेको सरकारी प्रवक्ताले मङ्गलबार बताउनुभएको छ । अक्टोबर २२ देखि २४ सम्म कजानको भोल्गा उपत्यका सहरमा हुने ब्रिक्स शिखर सम्मेलनमा पेजेस्कियनले जुलाईको अन्त्यमा पदभार सम्हालेपछि रुसको पहिलो भ्रमण हुनेछ । ब्रिक्स सन् २००९ मा पाँच प्रमुख उदीयमान अर्थव्यवस्था ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको नाम जोडेर स्थापना गरिएको क्षेत्रीय सङ्गठन हो  । हाल यो इरानसहित केही मध्यपूर्वी देशलाई समावेश गर्न विस्तार गरिएको छ । 

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान 

यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भन्नुभयो, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।” चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो । 

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट 

 घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट भएका छन् ।आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गर्नुभएको हो । उहाँले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक राजधानीमा जारी एन्फा महिला लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुभयो ।

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक  शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।  पर्साको पटेवा सुगौली गाउँपालिकाको नवनिर्मित आधारभुत अस्पताल भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयतालाई थप बलियो बनाउँदै नागरिकहितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । “मुलुक सङ्घीय संरचनामा गइसकेपछि सोही ढाँचाअनुसार नै क्रमशः शिक्षा र स्वास्थ्य क्षेत्रको विकास हुँदै गइरहेको छ । सरकारले आधारभूत सेवालाई जनस्तरसम्म पु¥याउनको लागि अधिकतम प्रयास गर्दै आइरहेको छ, जसको फलस्वरूप आज यहाँ पनि अस्पताल स्थापना भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो,“अहिले जनताको सबैभन्दा ठूलो आवश्यकता नै स्वास्थ्य उपचार र शिक्षा हो ।

४ वर्षीय शिशुको शव धानखेतमा

सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धानखेतमा ४ वर्षीय शिशुको शव फेला परेको छ। जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–२ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धानखेतमा फेला परेको हो। शिशु सोमबार साँझ साढे सात बजे घरबाट हराएका थिए।उनको अबेर रातिसम्म परिवारजनले खोजी गरे पनि भेट्न सकेको थिएन। शिशुको शव मंगलबार मात्र धानखेतमा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो 

 चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ। हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो। चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण रु ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर रु १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ। जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो। यो दुई महिनामा सरकारले रु ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु ३५ अर्ब बराबर ऋण तिरेको छ।​​​​​​​