कार्यकर्तालाई रविकाे अपिल : मविरुद्ध षड्यन्त्र भए 'प्रतिवाद'मा उत्रिनू, अलर्ट रहनु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध षड्यन्त्र भए देशभरका कार्यकर्तालाई प्रतिवाद गर्न अपिल गरेका छन् । मंगलबार साँझ फेसबुक लाइभमार्फत लामिछानेले आफूलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवाद गर्न आह्वान गरेका हुन् ।

"अदालतले, प्रतिवेदनले, सभापतिले, विभिन्न जिल्लाका प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्वप्रधानमन्त्रीले स्पष्ट र लेखेर भनिसकेपछि पनि मलाई संगठित अपराधमा भोलि राजनीति नै गर्न नसक्ने मान्छे पो बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यस्तो किसिमको गलत क्रियाकलाप, त्यस्तो किसिमको गलत षड्यन्त्र गर्न खोजिएको खण्डमा म देशैभरिका साथीहरूलाई अलर्ट रहन अपिल गर्न चाहन्छु," उनले भने ।

आफू अन्यायमा परेका बेला विगतमा नागरिकस्तरबाट साथ पाएको बताउँदै उनले अब पनि आवश्यक परे साथ दिन आग्रह गरे ।

"मेरो न्यायका लागि मात्र होइन, सहकारीको पीडितको रकम फिर्ता गराउने विषयमा पनि तपाईं अलर्ट रहनुहोला । व्यक्तिगतरूपमा मेरा लागि केही पनि गर्नुपर्ने आवश्यकता छैन । अन्याय पर्‍यो भने हिजो पनि साथीहरूले मलाई सघाउनुभएको हो । आज पनि सरकारले अन्याय गर्‍यो भने चाहिँ दसैँ, तिहार, छठ जेसुकै भए पनि अन्यायको विरुद्धमा उठ्नुहोला । रविका लागि होइन," उनले भने ।

"कानुनी प्रक्रियामा मेरो पूर्णरूपले साथ रहन्छ । मैले कहाँ आउनुपर्छ, मैले बयान दिन आउनुपर्छ कि, मैले पोखरा जानुपर्छ कि काठमाडौं आउनुपर्छ कि, कहाँ जानुपर्छ, म तयार छु । म थुनिनुपर्छ कि, तयार छु । म हिरासत बस्नुपर्छ कि, म तयार छु । तर, षड्यन्त्र गरेर होइन, झुक्याएर, छक्याएर, छलेर होइन," उनले भने ।

यसअघि, लामिछानेले आइतबार राति पार्टी कार्यालयबाट पनि आफूविरुद्ध षड्यन्त्र भए प्रतिवाद गर्न आह्वान गरेका थिए ।